इटालीको कविता

काभ्रे —
बेथानचोक गाउँपालिका ३, काभ्रेमा शुक्रबार गाउँपालिकाव्यापी कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा दस स्कुलका २७ छात्रछात्राले आफ्ना कविता वाचन गरेका थिए । प्रतियोगितामा कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिना ’ऊ र म’ शीर्षक कविताबाट प्रथम भइन् । ’मलाई मन छ’ कविता सुनाएर सरस्वती माविकी छात्रा उषा श्रेष्ठ द्वितीय भइन् भने ’म को हुँ’ शीर्षक कविताबाट वर्षा तामाङ तृतीय भइन् । सोनिका सेन्चुरी, इन्द्रबहादुर लोप्चन, डोल्मा तामाङ र सरिता सुनारले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा कविहरु अभय श्रेष्ठ, विश्व सिग्देल र दीपक सापकोटा निर्णायकको भूमिकामा थिए । प्रतियोगी कवितामाथि टिप्पणी गर्दै कवि सिग्देलले बालबालिकाका प्रतियोगितामा प्रस्तुत कविता कुसल शिल्पीले बुने झैँ परिपक्व रहेको बताए । कार्यक्रमको दोस्रो सत्रमा बेथान चोकका प्रतिभाहरुलाई सम्मान पनि गरिएको थियो । संगीतकार राजेश थापामगर र १०+२ मा विज्ञान संकायतर्फ नेपालभरिकै सर्वोत्कृष्ट जीपीए प्राप्त गरेका विद्यार्थी रजित दाहाललाई सम्मान गरिएको थियो ।
कविता प्रतियोगी र सम्मानित व्यक्तित्वलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र बेथानचोक गाउँपालिका ३ का अध्यक्ष कुबेर ढकालले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।