• २०८१ फागुन १ बिहीबार

सहनशील सुशील

धनराज गिरी

धनराज गिरी

“जेठान साहेब, हजुर त सागरै हो, जे पनि सहन सक्ने, मानें हजुरलाई, म भए नसक्ने ।” दामादश्री बुद्धनारायण पुरी, छैन भौतिक दूरी, बैनीको महल “अमीताभ बच्चन” र दाजुको महल, “पायसालय “जया भादुडी”, दाजु “प्रोफेसर आनन्द सुशील” प्रोफेसर जगमोहन आजाद र प्रोफेसर सुमेधाश्रीको अनन्य मित्र । मुस्कुरायो आनन्द, बोल्यो, “दामादश्री गौतम बुद्धज्यू, मलाई साँच्ची नै रीस उठ्दैन । चित्त त दुख्छ, गजल, कविता र कथामा उतार्छु, दुख्ने चित्तको मलम मसित छ । रीसलाई मैले धेरै पर धकेलेको धेरै भयो, कारण छ, तनावमा हुन्थें, रीस उठ्थ्यो । एक दिन कलेजबाट घर आएँ । रीस उठेको थियो । कारणहरू अनेक थिए ।

बच्चाबच्चीको बौद्धिक खुराक भनेर “वीज्डम डाइजेस्ट” किन्ने गर्थें । आफू पनि पढ्थे, किन कि “जोक्स” र महान्वाणीहरू काम लाग्ने, भर्खरै लेखनयात्रामा थिएँ, प्रतिभा –व्यूत्पन्न र अभ्यासको महत्व थाहा थियो । एउटा अभिव्यक्तिमा नजर अडिए, गान्धीजीको थियो, संसारले आदर्श मानेका गान्धी र बुद्धलाई मैले पनि मान्नैप¥यो, मान्छु, मानिरहेकै छु, गान्धीजी भन्नुहुन्छ, “तपाईंलाई रीस उढ्छ भने तपाईं भित्रैबाट कमजोर हुनुहुन्छ ।” आम्मै, कत्रो झट्का ! एकछिन त रन्थनिएँ । “के म भित्रैबाट कमजोर छु ?” आफैंसित प्रश्न गरे । म एक प्राध्यापक, गुरू “आनन्द सरले राम्रो पढाउनुहुन्छ” जगजाहेर । आफ्नो विषयवस्तुमा म आफू कमजोर भएको कहिल्यै थाहा भएन, न किताब, न डायरी, बरू कहिलेकाहिं शायरी, संपूर्ण पाठहरू कण्ठ, के कमजोरी ? पत्नी सुख १००%, सन्तान सुख १००%, स्वजन साथीभाइ सुख १००%, अर्थशास्त्र पनि मजबुत, शरीर पनि रोगी छैन, यसरी आफूमा कुनै पनि कमजोरी अनुभूत नगरेपछि म नरिसाउने अठोट गर्न पुगें दामादश्री, त्यहाँ राम्रो के छ ? र सकारात्मक सोचलाई जीवपद्धति बनाइयो । मान्छेलाई दुःख दिने पनि सुख दिने पनि उसको बिचार हो, मन हो । मनले उल्टो बाटो समाए “दुश्मन” बन्छ । रिसाएमा रीसले आफैंलाई खान्छ ।

युगौंदेखि मान्छेले भोगेको भोगाइ हो । म रिसाउन्न, कदापि रिसाउन्न । “हजुर त वास्तवमा यहाँ जन्मिने मान्छे होइन, यूरोप वा अमेरिकातिर हुनुपर्ने मान्छे, देवकोटा र रूपचन्द्र बिष्टकै कथा दोहोरियो जेठान साहेब ।” दामादश्री कस्सिएर आए, उतापत्नीसित संबन्ध “३६” भएर पनि हुनसक्छ, मान्छे खाँटी “छत्तीसे” हुन्, सारा भूगोल एकातिर, लौरीघोल उनीतिर, विशेष काम धेरै गरे, शेषकाम केही पनि छैन । पशुपतिनाथको सट्टा अरू “नाथहरूको” पछि लागे, धन्न “अनाथ” भएनन् । “बाबुराम भट्टराई” कै बाटोमा लाग्ने थिए, रामबाबुले जोगाए, उनले गीत गाए । जोगिने र जोगाउने काममा “जोगिमारेहरू” खप्पिस । सन्तोष छ अहिले, उनको हरेक “आरजू” पूरा भएको छ । देशमा गणतन्त्र छ, उनलाई पुग्यो । “गणतन्त्रवादी” हुन् । “गणेशकै” माया । “सहनशीला सुशीला पढियो, आज आएर “सहनशील सुशील” देखियो, अब जेठान साहेबले सासू आमाको कथा लेख्नुपर्छ “बघिनी आमा” हजुर त “डमरू” ।

“डमरू” उपन्यास आउनेछ दामादश्री, पक्कै आउने छ, म लेखिरहन्छु ।” दामादश्री लाग्नुभयो “सन्तोषालय” यता “खीरालयमा” प्रोफेसर आनन्द एक्लै एकजना साथीको भिडिओ कल आयो, साँखरबाट, साथी वसन्त बस्ताकोटी, “सर, नमस्कार !” “नमस्कार वसन्तजी, आज अचानक यो दामादश्रीलाई ससुरालीले कसरी संझियो ?” “सर, हजुर त दामादश्री मात्र होइन, हाम्रो लागि इज्जत, सम्मान, केलादी, साँखर र स्याञ्जाका बारेमा लेखेर हामीलाई पनि अमर बनाइदिनुभयो । साँखरमा एउटा भव्य साहित्यिक मेला गर्ने योजना छ, हजुरको धनबासे मामाकी छोरी देवकलाले पनि दिदी भिनाजुलाई रामपुर बोलाउने भनेकी छिन् । हाम्री गुरू आमा, चापाकोटे नानी कृष्णा भण्डारी कँडेलको आफ्नो काकालाई रामपुर ल्याउने रहर छ, रामचन्द्र भट्टराई गुरुसित कुरा भएको थियो, एक पटक आउनपरयो । हजुरलाई सम्मान गर्ने इच्छा छ ।” “आहा, अब भने ससुरालीले माया गरेको कुरा पक्का थाहा भयो । म आउनेछु । आज अचानक रूचाङे आफन्तहरू पनि खोज्दै आए, दुर्गा, प्रेम, ज्ञानेश्वर र नरेशसित वार्ता भयो । अब एकपटक इतिहासलाई चुम्बन गर्न आउनेछु । धन्यवाद वसन्तजी ।” विदा भए वसन्त । प्रोफेसर आनन्द एकछिन् सुस्तायो । भुसुक्क निदायो ।

“जीवराम, शिवराम, बलराम र जयराम– चार भाइहरू गाडी लिएर आए । प्रोफेसर आनन्द सुशीलको आँगनमा गाडी रोके । “दाजी आनन्द, नमस्कार” जीवराम “आम्मै, होइन आज यी सन्झोटेहरू कता हो ? भित्र आए हुन्छ ।” आनन्द । “होइन दाइ, आज दाइलाई लिएर बैकुण्ठनगर जाने, आनन्द सुशील र प्रोफेसर जगमोहन आजादको बीचमा परिचय गराउने । हामीले पनि केही सिक्नुछ । “द्रव्य शाहहरूको” कमजोरी पत्ता लगाउनु छ । निर्दोष मानिसहरू कसरी दोषी बन्छन् ? ती कुराहरू पनि थाहा पाउनुछ । इमान्दारीको हिमालय मेरो दाइ प्रोफेसर जगमोहन आजाद निर्मल, विमल र कंचन पात्र हुन् । त्यस्तो विन्दास गैंडालाई अण्टसण्ट भने, “कुमेधा” अरे । नचाहिने कुरा, होइन त बलराम ?” “जीवरामले बोलेपछि बलराम त्यसै सलाम ।” प्रोफेसर आनन्द सुशील तैयार भयो । पाँच जना अटाए । “अल्लाह हू, अल्लाह हू र गोरबोर दादा” किस्सा सदुपयोग भयो । “आनन्द सर, अचेल सामाजिक संजालमा देखिनुहुन्न त ?” जयराम । “दाइले फेसबुकमा पि.एच.डी. गर्दै हुनुहुन्छ ।” जीवराम । “मलाई पनि यो काममा आनन्द दाइ अनुकूल भएजस्तो लाग्यो । सालाखाला प्रतिभाभन्दा माथिको प्रतिभा हो हाम्रो दाइको । कतै दुरूपयोग त भएन जीवरामजी ?” “शिवरामजीले के भन्नुहुन्छ ? उहाँहरू त मित मित पनि । लौ शिवराम दाइ, भन्नुहोस्त ।” जीवराम ।

“एउटा कुरा साथी हो, मेरो मितवालाई उडाउनु उडायौ । तिमीहरूमध्ये कसैले जीवनमा मबाट यो यो गल्ती भयो, “माफ पाऊँ” भन्न सकेका छौ ? “राम्रो म” मुक्त छौ ? मेरो मितवाले त स्वीकार्नुभयो । उहाँ जस्तो पवित्र मान्छे अर्को को छ ?” शिवरामले प्रश्न राख्यो । “ह्या साथी हो, मेरो बारेमा यति चिन्ता लिन पर्दैन, म आफैं आनन्द सुशील मात्र होइन, “सहनशील सुशील” हुँ ।” गफ चल्दै गयो । “गोरबोर दादा” जयराम बोल्यो । जीवरामले, अचानक, सबैको ध्यान आकर्षित गर्दै भन्यो, “प्रोफेसर जगमोहन आजाद दाइजस्तो सहनशील मान्छेमैले अर्को देखेको छैन । दाइ आनन्दभन्दा पनि बढी ।”

“उही कुरा त हो, कान्हा, वासुदेव, देवकीनन्दन, श्रीकृष्ण, पोलरस्नानान्द हरिनन्दन जे जे भने पनि उही होइन र शिवराम दाइ, जीवराम दाइ ?” बलराम । “जीवराम दाइको मूल्यांकन सटीक हुन्छ ।” जयराम । “जीवराम दाइसित पनि एउटा टाउको, दुइटा कान, दुई आँखा र केही संवाददाताहरू छन्, अचेल सत्यधरता छैन, पक्षधरता हो । हाम्रो जीवराम दाइ पनि गलतफहमीको सिकार भएको कुरा मैले थाहा पाएको छु । मरेर जाने जुनी हो, सबैको आफ्नो आफ्नो अस्तित्व छ, चुरेको आफ्नो उचाइ छ, सगरमाथाको आफ्नै उचाइ छ, सगरमाथाको आफ्नै, सगरमाथा संझिएर चुरेले हिनताबोध गरेको कायाकैरन मैले पढेको छैन । भारत र चीन ठूला, म सानो भनेर नेपालले टाउको निहुरयाउने हो र ? कसो जीवराम दाइ ? जीवरामको बुझाइ गलत हुनुहुन्न ? शकुनि र मन्थराको फेला परिन ? मलाई त यस्तो लाग्छ । मर्नुपर्छ यार ! कालोलाई कालो र सेतोलाई सेतोभन्न नसक्ने ?” बलराम अलि भावुक भयो । “सही पकडे, अहिले भने मलाई कृष्णबहादुर काकाको कान्छो छोराको हक्की स्वभाव देखेर काका र काकी रत्न अनि रत्ननन्दनप्रति गर्व लाग्यो ।

मलाई पनि म “कुमेधा” बनाइएका अनन्त घटनाहरू संझनामा छन् । दाइ प्रोफेसर जगमोहन आजादले, दाइ शिवरामले, दाइ प्रोफेसर आनन्द सुशीलले धेरै पटक मलाई एउटै कुरा भन्नुभएको हो, सामुन्नेमा “तारीफ, तारीफ, तारीफ” भएमा त्यो “फेक” हो, नक्कली तारीफभन्दा सक्कली आलोचना ठीक हुन्छ । म पनि प्रशंसाप्रेमी भएछु क्यारे । आज मज्जाले चिरफार गर्ने । एउटा कुरा, त्यति रमाइलो गर्ने दाइ प्रोफेसर जगमोहन आजादको “धनी र गरीब” कथाले झस्कायो, “तोरी लाहुरे” जस्तो कथा कसरी लेख्नसकेको ? आम्मामा, म त तीनछक्क । खगेन्द्र संग्रौला र हरि अधिकारी दाजुहरूभन्दा पनि ९ कदम अघि । अझ एक शेर “कच्याककुचुक पारी कलम समाउनू बन्दूक – अनि मात्र खोसिने छ सामन्तीको सन्दूक” यो त एटम बम हो, अन्यायमा परेकै हुन् दाइ । अब बल्ल आँखा खुल्दैछ मेरो । अरू जे जे भए पनि मेरो दाइ ठग होइन, बेइमान होइन, इमानको हिमालय सम्पूर्णबहादुर बस्नेत सर, पूर्ण सफल हेडसरको दाहिने हात ठग हुनै सक्दैन । महादेव की सौगन्ध, मेरो दाइ निर्दोष छन् । बलराम भाइ, तिमी सत्य हौ, तथ्य बोल्यौ ।” जीवरामले आफ्नो मन खोल्यो “धन्यवाद बाबु” प्रोफेसर आनन्द सुशील, शिवरामलाई हेर्दै । “नो वोरी दाइ” जीवराम । “बरू, आनन्द दाइ, हजुर यसरी सहनशील बन्न केले सघायो ?”

जीवराम । “इग्नोर इट, यही मन्त्र । बाबुको यो मन्त्र दिव्यास्त्र भयो । अनि नि, आफ्नै लगानीमा किताब छपाइन्छ भने सहनशील हुनैपर्छ, लोकमणि रामायणलाई सोध्ने, प्रतीक्षा गर्दा गर्दा गर्दा गर्दा क्याम्पसमा अध्यक्ष वा प्रमुख वा जागिरे हुनू, जे पनि सहन सकिन्छ । तेस्रो, साझेदारीमा कुनै पनि कारोबार गर्नू, सहनशीला सुशीलाकै आफन्त बनिन्छ । चौथो, छन्द कविताको रहर जाग्यो र दुर्वासा गुरुहरूको फेला परियो, अझ राणाहरूले धाप मारेका अति जान्ने गुरुको फेला परेमा सासू “ललिता पवार” र बुहारी “वहिदा रहमान” बनिन्छ, सहनशक्तिको अधिकतम् सदुपयोग हुन्छ । अनि राजनीतिमा, साहित्यमा लाग्दा पनि सहनैपर्छ । योग्य र इमान्दारले पनि सहनैपर्छ ।

यसरी माथिका कुनै एउटा दरबन्दीमा नियुक्त हुने भाग्यमानीले “; वेला वसन्तको पर्ख जिन्दगीको हठी बनी– सहू सहु सहू बाबु सहनै नसके पनि” यही हो, भाइहरू, सहन कति सजिलो छ सहेर हेर, कहन कति सजिलो छ कहेर हेर” “ए बूढा, ए बूढा, कति घुरेको ? अब सपनामा कता कता पुगेको हो फेरि, बैंक जाने होइन ?” कल्याणीको स्वर, प्रोफेसर आनन्द वास्तविक दुनियाँमा हाजिर । “हैट, म जस्तो मान्छे सहनै जन्मिएको हो ।” सहियो,सहियो,यति त कहियो,अनि चुप रहियो।जय नेपाल,भाइ घायल !


धनराज गिरी