• २०८१ फागुन १ बिहीबार

कविता

 डम्बर बिकेल

डम्बर बिकेल

छन्दकै टिकी लाएर
लाएर रसकै हार
फुली छ नाकैमा अलंकारको
दिएर मुस्कान लयको
मक्खै पार्यौ तिमीले
लट्ठै पार्यौ तिमीले
भावको माया दिएर
मस्तै भएँ म
भावको माया लिएर ।

बिम्बैको चुरी लाएर
लाएर प्रतीककै औँठी
पाउजु छ गोडैमा अलंकारको
आँखामा गाजल लक्षणाको
दिएर कर्के नजर व्यन्जनाको
मख्खै पार्यौ तिमीले
लट्ठै पार्यौ तिमीले
भावको माया दिएर
मस्तै भएँ म
भावको माया लिएर ।

हातमा चुरी औँलामा औंठी
पाउमा पाउजु छ
निधारमा टिकी आँखामा गाजल
ओठमा लाली छ
सजियौ, सोर्है शृंगारले
तर सिउँदो खाली छ
आउँदैछु प्रिया !
सिउँदो भर्न तिम्रो
नववादको सिन्दुर लिएर ।


डम्बर बिकेल