कथा

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा, श्रीधर गौतमलगायतले राजभण्डारीका तीन अंग्रेजी कृति ‘इटर्नल भिजिलेन्स’, ‘द बर्ड अफ प्याराडाइज’ र ‘ब्रायर रोज’ संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि उप्रेतीले आफूले पाण्डुलिपि पढ्ने अवसर पाएको बताउँदै कविले संवेदनालाई सशक्त ढंगले प्रस्तुत गर्ने कलाले प्रभावित भएको बताए । सबै सिर्जनाले जीवनको महत्त्व बुझाउने उनको भनाइ थियो । नेपाली साहित्यका लागि तीनवटै संग्रह महत्त्वपूर्ण रहेको उप्रेतीले बताए । ‘इटर्नल भिजिलेस’माथि प्राध्यापक सिग्देल, ‘द बर्ड अफ प्याराडाइज’माथि मोहनप्रसाद लोहनी र ‘ब्रायर रोज’माथि पद्म देवकोटाले समीक्षात्मक धारणा राखे ।
कवि राजभण्डारीले आफूभित्रको भावना शब्द बनेर कवितामा अभिव्यक्त भएको बताइन् । २०४७ देखि कृति प्रकाशन गर्न थालेको र यसमा परिवारले महत्त्वपूर्ण साथ दिएको उनले उल्लेख गरिन् । कार्यक्रममा उनले केही कविता वाचनसमेत गरिन् । करिब ६ दशकदेखि साहित्यमा सक्रिय राजभण्डारीका यसअघि ‘जीवन यात्राका छायाँहरू’, ‘दीपशिखा’, ‘अपराजिता’, ‘सर्वस्व तिमी’, ‘गुन्जिरहोस् अपार’लगायतका दर्जन बढी नेपाली कृति प्रकाशित छन् । त्यस्तै, ‘अनटिल्ड द ओसन ब्लेड’, ‘यु मे अल’, ‘लभ ड्रप्स’लगायतका अंग्रेजी कवितासंग्रहसमेत प्रकाशित छन् ।