कविता

काठमाडौँ, कमलादी, २०८१ वैशाख ।
नेपाल प्रज्ञा- प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो । नव वर्ष २०८१ सालको उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।
“सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान”भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन् ।
प्रज्ञा नेपाली बृहत् शब्दकोश १ प्रति खरिदमा २०% छुट र दुई प्रतिको खरिदमा २५% छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ । प्रदर्शनी २०८१ वैशाख ४ देखि १८ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनः प्रकाशन भएका अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चामलिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’, काठमाडौँ उपत्यकाका नेवारी लोकगीत लगायतका पुस्तकहरू ४०% छुटमा पाइन्छ ।
प्रतिष्ठानका नयाँ प्रकाशन ‘समाज अन्वेषण’, ‘मिक’, ‘लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएको छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिने छ ।