• २०८१ मंसिर १७ सोमबार

सुन्दर जोशीको ‘अर्मानी लगाउने भाइ’ कथासंग्रह विमोचन

काठमाडौँ

आख्यानकार सुन्दर जोशीको दोस्रो कथा संग्रह ‘अर्मानी लगाउने भाइ’ सार्वजनिक भएको छ । समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लेखक वासु श्रेष्ठले लोकार्पण गरे ।

कथाकार जोशीले १२ वर्षको अन्तरालमा भए पनि दोस्रो कृति ल्याउन पाउँदा खुसी लागेको बताए । उनको यसअघि ‘क्यासल रककी अप्सरा’ कथाकृति प्रकाशित भएको थियो ।

आख्यानकार पाण्डेले जोशीका सिर्जनाहरू पढ्दा आफूलाई ऊर्जा मिल्नुका साथसाथै ईर्ष्या पनि लाग्ने गरेको सुनाए । थपे, ‘अमेरिका बस्दै आउनुभएका सुन्दरजीका सिर्जनाहरू खास अर्थमा डायस्पोरिक छन्, विदेशमै बसोबास गर्ने नेपालीका कथा भएकाले । विदेशमा बस्दैमा नेपालको सम्झना गरेर लेखिएका सिर्जना डायस्पोरिक हुँदैनन् ।’ भुँडी पुराणद्वारा प्रकाशित ‘अर्मानी लगाउने भाइ’ मा लामालामा नौ वटा कथा छन् ।