कविता

नेपाल प्रज्ञा–प्रतिष्ठान र बालसाहित्य समाजको संयुक्त आयोजनामा प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा आज माघ १२ गतेदेखि प्रथम बालपुस्तक प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीमा बालसाहित्यका विभिन्न विधाका २ हजारभन्दा बढी शीर्षकका पुस्तक राखिएका छन् ।
प्रदर्शनीमा एकता प्रकाशन, कथालय इन्क, कोपिला किताब, गिनिज बुक्स, परिचय पब्लिकेसन्स, बालसाहित्य प्रतिष्ठान नेपाल, बुकआर्ट नेपाल, भुँडीपुराण प्रकाशन, विवेक सिर्जनशील प्रकाशन र साङ्गृला प्रकाशन सहभागी छन् । साथै नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजबाट प्रकाशित बालसाहित्य र बालोपयोगी पुस्तकहरू राखिएका छन् । अभिभावक र शिक्षकलाई बालपुस्तकबारे जानकारी दिँदै बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइएको छ ।
प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले साहित्यको प्रवर्द्धन गर्ने हो भने बालबालिकालाई पाठक बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि बालसाहित्य महत्त्वपूर्ण हुने बताउनुभयो ।
उपकुलपति विमलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र महासचिव विजयराज आचार्यको पनि उपस्थिति थियो । प्रदर्शनीको संयोजक नेपाल बालसाहित्य समाजको कार्यसमिति सदस्य भानु भट्टराई हुनुहुन्छ ।