कविता

काठमाडौँ, पुस ३ गते ।
‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि.सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । कवि, अनुवादक तथा लेखक युयुत्सु आरडी शर्माको लेखन सहजीकरणमा हुने ‘हिमालयन राइटर्स रिट्रिट’ मा प्रख्यात अमेरिकी कवि तथा सम्पादक टोनी बार्नस्टोन, एसियाली अमेरिकी कवि तथा संस्मरण लेखक रविशङ्कर, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा लेखक टिम टोम्लिन्सनलगायतको सहभागिता रहने जनाइएको छ ।
सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने नेपाल संस्करणको संयोजक ह्वाइट लोटस बुक सप, कुपन्डोल, ललितपुरका प्रतिनिधि सिर्जना भण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा रिमालका कविताहरूको सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशन हुने बताइएको छ । “न्युयोर्क राइटर्स वर्कसप २०२४ संसारभरको साहित्यिक जगत्का लागि वरदान हुनेछ”, हिमाली महोत्सव संस्करणका अध्यक्ष शर्माले भन्नुभयो,“यस प्रकारको कार्यक्रम दक्षिण एसियामै पहिलो हुनेछ । यसले बहुसांस्कृतिक साहित्यिक संकथनमा नयाँ आयाम ल्याउने र विश्वभरका सिर्जनात्मक लेखकहरूबिचको सम्बन्धलाई बढवा दिई सिर्जनशीलताको बाढी ल्याउने छ ।”
राइटर्स वर्कसप अन्तर्राष्ट्रिय लेखन कार्यक्रम हो जुन यसअघि ग्रिसको एथेन्स, इटालीको सर्दिनिया, न्युयोर्क सहर क्षेत्रमा आयोजना भइसकेका छन् र प्रतिष्ठित लेखकहरूले प्रशिक्षण दिने गर्छन् । वर्कसपका निर्देशक तथा न्युयोर्क विश्वविद्यालयका प्रा. टोम्लिन्सनले नेपाल सम्मेलन सहभागीहरूका लागि नौलो अनुभवयुक्त र निकै वैभवशाली हुने प्रतिक्रिया दिनुभयो ।
अमेरिकी कवि तथा ह्विटियर कलेज, क्यालिफोर्नियाका अङ्ग्रेजी, वातावरण र संस्कृति अध्ययनका प्रा. बार्नस्टोन यसलाई स्वप्नमय परियोजनाका रूपमा लिँदै नेपालमा हुने अद्भुत अन्तर्राष्ट्रिय सम्मेलनको आफूले प्रतीक्षा गरिरहेको बताउनुभयो । रासस