• २०८१ श्रावाण ११ शुक्रबार

आज माफी भो

श्रवणकुमार ढुङ्गाना

श्रवणकुमार ढुङ्गाना

लाग्छ जस्तो कि यो आकाश मौन शताब्दियौँ छ
सुन्न सके यो, धरा सिर्जनाको विस्फोट अनेकौँ  छ ।

मरे पछि के गर्छन् कुन्नि जीवनका चीत्कारहरू
हाम्रा यी त्रस्त मनमा तर्पणको झन्कार वर्षौं छ ।

चेपारे ओठले आँखाको लोभ लुकाउन सक्दैन
ती लुकेका क्षोभ छल्किने यहाँ छिद्र हजारौँ छ ।

प्रीतमा पाप छ भने नलेख गीत स्वप्नयात्राको
निष्पाप सन्देश बुझाउन काफी त आँखिभौँ  छ ।

त्यो धनुषले शिकार चुमेझैँ  हान्यौ कि लात कतै
आज माफी भो, प्रतिकारलाई आघौँ पराघौँ छ ।

नलुकाऊ चाह पीडनको, रचाऊ व्यूह अँगालोको
छलमा पनि वीरता देख्ने कथा यहाँ लाखौँ  छ ।


(ढुङ्गाना विगत तीन दशकदेखि साहित्य–सिर्जनमा सक्रिय स्रष्टा हुन् ।)
[email protected]