काठमाडौँ ।
लेखक मोहन मैनालीको खोजमूलक ऐतिहासिक दस्तावेजको किताब ’मुकाम रणमैदानः नेपाल अंग्रेज युद्दको बखान’ सार्वजनिक भएको छ । १८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा नेपाली र अंग्रेज सिपाही र कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई मैनालीले किताबको विषयवस्तु बनाएको प्रकाशन संस्था बुकहिलले जनाएको छ ।
किताबबारे मैनालीले भनेका छन्,’यो किताबका निम्ति नेपाल–अंग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने, देखी जान्ने मानिसका बयानमा म भर परेको छु । कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै–कतै भेटिने, कतै–कतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका ती चिठीका शब्द–शब्दका अर्थ बुझेर मैले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा किताबमा समेटेको छु ।’