• २०८१ फागुन ६ मङ्गलबार

राष्ट्रिय लेख प्रतियोगितामा असफल गौतम प्रथम एक लाख राशिको पुरस्कार प्राप्त

सिबिफिनको राष्ट्रिय लेख प्रतियोगितामा पत्रकार असफल गौतम प्रथम भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिन नेपालले आयोजना गरेको देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत सयौं पत्रकार सहभागी राष्ट्रिय प्रतियोगितामा पोखरामा रहेर पत्रकारितामा क्रियाशील असफल गौतम प्रथम भएका हुन् ।

प्रथम स्थान प्राप्त गर्दै असफल नगद एक लाख राशिसहित पुरस्कृत भए । स्वतन्त्र पत्रकार संघ कास्की तथा मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल एटुजेड पत्रिका डटकमका संवाददाता हुन् । विजेतालाई सिबिफिन र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरूपमा आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ को प्रतिवेदन र प्रतियोगिताको नतिजा सार्वजनिक समारोहबिच पुरस्कृत गरेको हो ।

समिटको पूर्वसन्ध्यामा सिबिफिनको आयोजना, नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख प्रतियोगितामा देशभरबाट उत्कृष्ट १५ औँ स्थानभित्र पर्न सफल पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतियोगीमा काठमाडौ प्रेस काठमाडौंका यम विरहीले द्वितीय स्थान हासिल गर्दै ७५ हजार, श्रीनगर मिडिया नेटवर्क पाल्पाका दुर्गाप्रसाद अर्यालले तृतीय स्थान हासिल गर्दै ५० हजार, कर्पोरेट नेपाल डटकम रौतहटका खेम बोलाखेले चौथो स्थानसहित २५ हजार र आर्थिक अभियान दैनिकका नवराज अधिकारी पाँचौ स्थान प्राप्त गर्दै १५ हजार नगद राशिसहित पुरस्कृत भए ।

प्रतियोगिताका उत्कृष्ट १० लेखतर्फ इन्फो खबर मिडिया काठमाडौंका कमलबहादुर कठायत, युनिभर्सल टेलिभिजन काठमाडौंका अमृता बजगाई, ह्याप्पी पोखरा डट कम कास्कीका रूपनारायण ढकाल, अन्नपूर्ण पोष्ट मकवानपुरकी ममता थापा, न्यूज एजेन्सी नेपाल काठमाडौंका अनिष मिजार, समाज खबर साप्ताहिक ओखलढुंगाका दधिराम खतिवडा, क्यापिटल म्यागजिन काठमाडौंका लोकबहादुर चापागाई, रातोपाटी न्यूजका एलन अधिकारी, अन्नपूर्ण पोष्ट दैलेखका हिक्मतबहादुर नेपाली र केशर साप्ताहिक झापाका वेणुप्रसाद अधिकारी नगद १० हजार राशिसहित पुरस्कृत भए ।

पुरस्कृत पत्रकारलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्य र नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले संयुक्तरूपमा पुरस्कृत गरे ।