• २०८१ कातिर्क २४ शनिवार

एजुकेसनल पब्लिसिङ हाउसद्वारा तीन कृति सार्वजनिक

काठमाडौँ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् । एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा जितेन्द्र रसिककृत जोशीको जीवनी ‘सत्यको खोज’ र आर मानन्धरकृत जनकवि दुर्गालालको जीवनी ‘कवि–कविताको छविः दुर्गालाल श्रेष्ठ’ तथा प्रा डा. कमलप्रकाश मल्लद्वारा ४४ वर्षअघि लिखित ‘क्लासिकल नेवार लिटरेचर’ (शास्त्रीय नेवार साहित्य) छन् ।

हालै आयोजित विमोचन कार्यक्रममा कवि श्रेष्ठले आफू अब आफ्नो शरीरमा हैन, जीवनी किताबमा रहेको बताए । समीक्षक सुरेश किरणले दुर्गालाल जनताको कवि भएको र उनका बारे जान्न चाहनेलाई पुस्तक निकै महत्त्वपूर्ण रहेको बताए । साहित्यकार तथा तथा अधिकारकर्मी मल्ल के सुन्दर र प्रा डा अभि सुवेदीले ‘शास्त्रीय नेवार साहित्य’ प्राचीन नेपालभाषामा लेखिएका सयौँ कृतिको गम्भीर अनुसन्धानको नतिजा रहेको र यसले अन्वेषकहरूलाई अझै थप शोध–अध्ययनका लागि ढोका खोलिदिएको विचार राखे ।

लेखक रसिकले जोशी युगको ज्योति भएको र उनका बारे जति लेखे पनि नसकिने बताए । जीवनी लेखक मानन्धरले कवि दुर्गालाललगायत अग्रज भाषिक योद्धाहरूको योगदानका कारण आज तामाङ र नेपाल भाषाले बल्ल सरकारी मान्यता पाउन सफल भएको जनाउँदै अब उनीहरूको अंश बोकेर आफूहरू सबै जाग्नुपर्ने औँल्याए । समीक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको र पुस्तकका हरेक परिच्छेद अनुसन्धानमूलक भएको जिकिर गरे भने जोशीका ज्येष्ठ सुपुत्र अणुराजले ‘सत्यको खोज’ भित्र आफ्ना पिताको इतिवृत्तान्त समावेश रहेको स्वीकारे ।