समाचार

छोराछोरीहरूले कराएर मनकलीको आधा मासु खाइसकेका थिए । दसैँको लागि दुई किलो मासु जोहो गर्न नसक्दा मनकली पनि चिन्तित थिइन् । बिरामी लालबहादुरको ज्यान सुकेर आधा मासु घटिसकेको थियो । अष्टमीको दिन सकी नसकी लालबहादुर बिहानै दस घर डुलेर रित्तो हात फर्किए । मनकलीले आँखा रसिलो पार्दै भनिन्– “केही नलिई आयौ बुढा ? मुखिया बाले केहि सहयोग गर्नु हुन्थ्यो होला गएनौ ?“
पीढीमा थचक्क बसेर लाल बहादुरले निधारको पसिना कमिजको फेरले पुछ्दै भने – “मुखिनी बज्यै बिरामी रहेछिन् । पाठेघरबाट दुई किलो मासु निकालेर फालेको रे !“ मनकलीको मन पग्लियो । मुखिनीलाई भेट्न र आफ्नो दुखेसो पोख्न ऊनी मुखिया बाको घर तर्फ लागिन । मुखियाको घरको ढोकामा पुगेर भित्र आँखा तन्काएर हेरिन ।
मुखिनी बज्यै भित्र ओछ्यानमा नै बसेर मासु भात खादै रहिछिन । मुखिया बा दाँतमा अड्केको मासु कोट्याउँदै बाहिर निस्किए । मनकलीले आफ्नो दुखेसो पोखिहाली – “मुखिया बा ! यसपालि दसैँमा छोराछोरीलाई मासु किनेर खुवाउन सकिएला जस्तो छैन । बुढा रोगले थला परे । कतै काममा जान पनि सकेका छैनन् अब हाम्रो लागि हजुर नै त हो जे भने पनि ।“
मुखिया बाले पावरवाला चस्मा भित्रबाट मनकलीको विवशतालाई सूक्ष्म आङ्कलन गरेर उसको देहमा गिद्धे नजर गाड्दै भने– “भइहाल्छ नि मनकली, मासु बाँडेर खाउँला नि ।“
किशन पौडेल
हेटौंडा–४