• २०८१ कातिर्क २२ बिहीबार

डा. ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

स्त्रीरोग विशेषज्ञ प्रा. डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा डा. सरोजा पाण्डे, प्रा. डा. सानुमैयाँ दली, प्रा. डा. प्रमिला प्रधान, प्रा. डा. आश्मा राना, प्रा. डा. लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपानेलगायतले सामूहिकरुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत विषयलाई समेटिएको छ ।

पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि र पछिको हेरचाहका बारेमा समेत पुस्तकले जानकारी दिने लेखक ताम्राकारले बताए । साधारण जानकारीको अभावमा महिलाहरुले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरुको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको लेखक ताम्राकारको भनाइ थियो ।

कृतिमाथि चर्चा गर्दै डा. सपना अमात्यले किशोरावस्थामा देखिने शारीरिक परिवर्तनदेखि रजानेवृत्तिसम्मका अवस्था सरल किसिमले लेखिएको मेडिकल बुक जस्तै रहेको बताइन् । उनका अनुसार सरल व्यक्तित्वमात्रै नभई काम, व्यक्ति र लेखाई पनि सुमन छ ।