• २०८२ आश्विन २३, बिहीबार

एउटा मान्छेको मायाले कति फरक पार्दछ

चाँदनी शाह

चाँदनी शाह

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिश्वासको
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो

बिछोड हुँदाको दुखमा पनि भरोसा हुन्छ मिलन को
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहराको
मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो


चाँदनी शाह