कविता

काठमाडौँ ।
अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । अनुवादक विप्लव प्रतीक, लेखक÷अनुवादक सगुना शाह तथा प्रकाशन संस्था वी रीडकी सीईओ सुनिती अमात्यले पुस्तक विमोचन गरे ।
विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला हृयारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने । रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितबारे हृयारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् । आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।
दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए । ‘अनुवाद गर्न खासै मलाई मन लाग्दैन, तर यो अनुवादले नेपाली शब्द भण्डार बढाउन मलाई धेरै सघायो,’ उनले भने, ‘वर्षौं प्रयोग भएर नेपालीकरण भइसकेका आयातित शब्दको मिठास नहराओस् भनेर कतिपय ठाउामा तिनलाई प्रयोग गरेको छु ।’
पुस्तकले एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति हृयारिसलाई नजिकबाट चिनाउँछ । जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी हृयारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । हृयारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा छ ।
अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमात्रै नभई उनी पहिलो अश्वेत उपराष्ट्रपति पनि हुन् । अमेरिकी जनताले सामना गरेका विविध चुनौतीलाई हृयारिसले अवलोकन गरेकी छन् । आफ्नो करिअर र आफूलाई प्रेरित गर्ने मानिसका काममार्फत कडा मेहनत र सुझबुझका साथ उनले हासिल गरेका ज्ञान र अन्तरदृष्टिलाई चित्रित गर्दै संघर्ष, उद्देश्य, जीवनमूल्यको तस्बिरलाई उनले विश्वसमक्ष बाँडेकी छन् ।