कथा

काठमाडौँ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ लोकार्पण गरिएको छ। पत्रकार तथा अनुसन्धाता बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार: नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ आदि कुरालाई यस पुस्तकमा समेटिएको छ।। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति, राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन ? भन्दै प्रश्न गरे । ‘हाम्रो कूटनीति सन्तुलनमा छैन, कोल्टे पल्टिएकै छ,’ उनले नेपालको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाए, ‘दुवै छिमेक उन्नत भइरहने, हामीचाहिँ जहाँको त्यहीँ भइरहने कस्तो कूटनीति ?’ पहिले नै अध्यावधि गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रुपमा चलेको उनको भनाइ छ । ‘परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ तर, हाम्रो नीति दलबाट प्रेरित त छैन ?,’ श्रेष्ठले तर्क गरे, ‘हाम्रो भू स्थिर भयो तर, राजनीति अस्थिर । भूगोलले जितेको छ, राजनीतिले हार्यो ।’
आन्तरिक सम्बन्ध सबल नभएसम्म बाह्य सम्बन्ध सुदृढ हुन नसक्ने उनको चिन्ता छ । मुलुक सधैं दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने र विदेशी चलखेल बढ्नसक्ने उनले बताए । नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन पुस्तक प्रभावकारी रहेको उनको भनाइ थियो । कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुरयाउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनैपर्ने धारणा राखे । ‘आज दक्षिणतिर फर्केर सक्दो गाली गर्ने, भोलि उत्तरतिर फर्केर सक्दो गाली गर्ने राजनीतिले हामीलाई कहीँ पुरयाउँदैन,’ उनले भने ।
परराष्ट्र विज्ञ अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहिनरुपमा वर्णन गरेको बताइन् । ‘एउटा घटना र अर्को घटनाबीच सम्बन्ध छ,’ उनले भनिन्, ‘सामान्य पाठकलाई पनि पढ्न सजिलो छ ।’ नेपाल विस्तारै चीनको पकडमा गइरहेको अवस्थामा पुस्तक चीन केन्द्रित रहेको उनले बताइन् । ‘हामी चीनलाई कम बुझ्छौ या त बुझ्दैनौं । चीनले गरेका कतिपय गतिविधिले हामीलाई प्रभाव पारेको छ । तर, सकारात्मक धारणाले कतिपय असरका कुरा ओझेलमा छन्, जुन लेखकले देखाउन खोजेका छन्’, उनको भनाइ थियो ।
चीनबाट हाम्रोतर्फ भएका अतिक्रमणबारे सरकारले अध्ययन गरे पनि त्यसलाई सार्वजनिक नगरी राख्दा नागरिकले भूवस्थाबारे यथार्थ जानकारी पाउन नसकेको उनले बताइन् । ‘अहिलेको विश्वमा प्रतिस्पर्धी शक्ति चीन रहे पनि हाम्रो अहितका लागि कुनै प्रस्ताव आए ‘नो’ भन्न सक्नुपर्छ,’ उनले भनिन्, ‘जुन मित्रता र सद्भावको वर्णन गर्छौं, त्यो अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी हुँदैन ।’
पत्रकार अर्यालले नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको बताए । ‘चीन विश्वशक्तिमा उदाएको छ, अमेरिका जहाँसुकै उपस्थित हुन चाहन्छ,’ उनले भने, ‘विश्वको बदलिँदो परिस्थितिका बीच पुस्तक उपयोगी छ । जटिल विषयलाई पनि लेखकले सम्प्रेष्य बनाएका छन् ।’ नयाँ विश्व परिस्थितिमा भूराजनीति सबैले बुझ्नुपर्ने भन्दै उनले पुस्तकले विमर्शको बाटो खोलेको बताए ।
लेखक विश्वकर्माले ३ वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताए । दुई दशकभन्दा लामो समय खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो । ‘मैले पत्रकारिता गर्दा जसरी निष्पक्ष भएर सबै पाठकको प्रिय बन्न सकेँ, किताब पनि त्यसरी नै तयार पारेको छु’, विश्वकर्माले थपे, ‘कुनै देशप्रति पक्षपोषण नगरी प्रमाणसहित देशलाई सबैभन्दा माथि राखेर यो पुस्तक तयार पारेको छु ।’
१३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो–प्यासिफिकलगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित छ । सो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।