ललितपुर ।
सञ्चार रजिस्ट्रार कार्यालयले ‘साइबर सुरक्षा’ नामक पुस्तक सार्वजनिक गरेको छ । सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशन गरेको उक्त साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गर्नुहुँदै मन्त्री गङ्गानारायण श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानुन बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा विज्ञ मात्र नभएर प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको प्रतिनिधि रहन आवश्यक हुने बताउनुभयो ।
सञ्चार रजिस्ट्रारको कार्यालय वाग्मती प्रदेशले नागरिकलाई सुसूचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताउनुभयो । यस्ता प्रकाशनले प्रादेशिक संरचनालाई बलियो बनाउन मद्दत पु¥याउनसक्ने उहाँहरूले बताउनुभयो ।
साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्त्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धताजस्ता विषय समेटिएका छन् । साइबर अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमणलाई पुस्तकमा पहिल्याउने कोसिस गरिएको छ। पुस्तकमा साइबर अपराधका बहुआयामिक, प्राविधिक, मानवीय,भौतिक र तेस्रो पक्षको चुनौतीलाई केलाउने प्रयास गरिएको छ ।
डिजिटल साक्षरता, अनलाइन पत्रकारिता, मिडिया साक्षरता र सामाजिक सञ्जालमा गहिरो अध्ययन गर्नुभएका प्रवेश सुवेदीले सम्पादन गर्नुभएको उक्त पुस्तकको सहलेखनमा एसिया प्यासिफिक स्कुल अफ इन्टरनेट गभर्नेन्सका उपाध्यक्ष अधिवक्ता बाबुराम अर्याल, बेलायतमा साइबर सुरक्षा सल्लाहकारमा कार्यरत गङ्गालाल चपाई (निकेश), काठमाडौ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागमा भिजिटिङ फयाकल्टीका रूपमा कार्यरत रविराज बराल रहनुभएको छ ।
सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले यसअघि उहिलेको पत्रकारिता, डिजिटल साक्षरता र अनलाइन पत्रकारिता सम्बन्धी पुस्तक प्रकाशित गरेको छ। सञ्चार रजिष्ट्रार कार्यालयले नेपालमा पहिलोपटक विधागत पत्रकारिता सम्बन्धी अध्ययन पुस्तक र उहिलेको पत्रकारिता भाग दुई पनि तयार गरेको छ ।