दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा शिक्षासेवी गोविन्दप्रसाद आत्रेयको आत्मकथा ’यायावरीय अनुभूति“ को कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. पूर्णचन्द्र ढुङ्गेलद्वारा उक्त कृतिको लोकार्पण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुङ्गेलले आत्रेयको कृतिमा जीवनका विविध सन्दर्भ समेटिएको उल्लेख गर्दै यो आत्मकथाको मात्रै पुस्तक नभएर इतिहासलगायतका विषय पनि समाविष्ट रहेको औँल्याउनुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पन्तले आगामी दिनमा अझै गहकिला कृति प्रकाशनको अवसर दिनुहुने छ भन्दै लोकार्पित कृतिका लागि बधाईज्ञापन गर्नुभयो । यो कृति दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित २०१औँ कृति हो ।
कार्यक्रममा प्रा. डा. कृष्णचन्द्र शर्मा, प्राज्ञ दिनेशराज पन्त, युवराज मैनाली र नेपाल सरकारका सहसचिव निर्मला अधिकारीले लोकार्पित कृतिका बारेमा समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै कृतिले कृतिकार गोविन्दप्रसाद आत्रेयको बहुआयामिक व्यक्तित्वलाई प्रकट गरेको चर्चा गर्नु भएको थियो ।कार्यक्रममा कृतिकार गोविन्दप्रसाद आत्रेय, प्रतिष्ठानका सदस्य प्रा. डा. लेखप्रसाद निरौला र महासचिव यादव भट्टराईले समेत आफ्ना धारणा राख्नुभएको थियो ।