• २०८१ भाद्र २४ सोमबार

जानुभन्दा पहिले

जीवन तिवारी

जीवन तिवारी

सब जाने तरखरमा छन्
सबलाई कहीँ कतै जानु छ
छुट्टिनु छ सबलाई,
सब छुट्टिने तरखरमा छन् ।

सब गैरहेछन् कता हो कता
सब छुटिइरहेछन् सबैसँग

अरू छुट्टिएको, अरू गएको हेर्दाहेर्दै
आज आफ्नै छुट्टिने दिन आएको छ
आज आफ्नै जाने दिन आएको छ

म यहाँबाट जानुभन्दा पहिले
म सबसँग छुट्टिनुभन्दा पहिले
मलाई रहर लागेका,
मलाई गर्न मन लागेका,
मलाई भन्न मन लागेका
केही कुराहरू छन्
जुन आजै पूरा गर्नु छ

किनभने म अब कहिले फर्किन्छु
केही ठेगान छैन
म फर्किन्छु÷फर्किन्न
केही यकिन छैन्

म फर्किएछु भने पनि
यी कुरा पूरा गर्न धेरै ढिला हुनसक्छ

म फर्केर आउँदा
समय अहिलेजस्तो नहुनसक्छ
हामी सँगसँगै नहुनसक्छौँ
फेरि अर्काे यस्तै भेट नहुनसक्छ

म फर्केर आउँदा
कोही कहिल्यै नभेटिने गरी
छुटेका हुन सक्छन्
कोही कहिल्यै नफर्किने गरी
पर गएका हुनसक्छन्

जानुभन्दा पहिले
छुट्टिनुभन्दा पहिले

बा–आमालाईसँगै राखेर
बा–आमाको पाउ छुनु छ
बा–आमाको सुन्दर तस्बिर
कैद गर्नु छ यी आँखाले
र टाँस्नु छ हृदयको सबैभन्दा
सुन्दर कुनामा

एकटकले उभिएर हेर्नु छ,
मलाई सधैंँ ओत दिइरहने,
मलाई घाम, पानीबाट
बचाउने घरको छानो

त्यो बिस्तारालाई प्रेमले
सुमसुम्यानु छ
जसले मसँगसँगै देखेको छ
मेरा सपनाहरू
जसले मसँगै कटाएको छ
मेरा अनिदा रातहरू
जसले कसैले नदेखेको
मेरा आँखाबाट बगेको आँसु देखेको छ ।

अनि धन्यवाद भन्नु छ
घरको गेटलाई जो सधैँ
मेरो परिवारको पहरेदार बनिरह्यो
र भन्नु छ त्यो गेटलाई
म नआउँदासम्म
मेरो परिवारको सुरक्षा गर भनेर

जानुभन्दा पहिले
छुट्टिनुभन्दा पहिले

उनको आँखामा हेर्नु छ मलाई
मेरा लागि उनको आँखामा छचल्किरहेको प्रेम
सँगै पिउनु छ एक–एक कप कफी
म नफर्किने वेलासम्म पुग्ने गरी

हात समाउँदै हिँड्नु छ
सडकका तिनै गल्लीहरूमा

टाँसिनु छ उनको अँगालोमा यसरी
कि म जानुभन्दा पहिले
लिएर जान सकूँ उनको सुवास,
उनको स्पर्श मसँगसँगै
र चुम्नु छ उनको निधार
पहिला कहिल्यै नचुमेको जसरी

जानुभन्दा पहिले
छुट्टिनुभन्दा पहिले

गर्नु छ आत्मीय साथीहरूसँग
एउटा यादगार भेट
म फर्किंदा सब सँगै नहुनसक्छौँ
यो पल फेरि नहुनसक्छ

मलाई थाहा छ
सबलाई
जानुपर्ने छ एकदिन कतै
छुट्टिनुपर्ने छ सबसँग
आज म छुट्टिएजसरी

एउटा लामो यात्रामा
निस्कनु छ साथहीरूसँग
घुम्न जानु छ पहिला कहिल्यै
नगएका ठाँउहरू

बसेर त्यही पुरानो चियापसलमा
फेरि पनि गर्नु छ यो देशको कुरा
फोहोरी राजनीतिको कुरा
भ्रष्ट नेताहरूको कुरा
गर्नु छ प्रेमिकाहरूको कुरा
भविष्य को कुरा
जिन्दगीको कुरा

जिस्काउनु छ साथीहरूलाई
उनीहरूले मन पराएको
तर आफ्नो बनाउन नसकेको
केटीको नाम लिएर

सुन्नु छ उनीहरूको सधैँ दोहोरिरहने
असफल प्रेमको दुखद कथा

सल्काएर एउटै चुरोट
बाँडीबाँडी तान्नु छ
सिग्रेटको धूवाँ

साथीहरूसँग बसेर
पिउनु छ कहिल्यै नपिएको जसरी

जानुभन्दा पहिले
छुट्टिनुभन्दा पहिले

यो माटोको सुगन्ध लिनु छ
कलकल बग्ने नदीको पानी पिउनु छ
सुन्नु छ चराहरूको चिरबिराहट
सेता टल्किरहने हिमाललाई हेर्नु छ धित मरून्जेल

र त्यसपछि जाने छु म
छुट्टिने छु सबसँग

मलाई
सम्झिरहोस् यो देशले
सम्झिरहून् साथहिरूले..


जीवन तिवारी
ठेगानाः रूपन्देही, नेपाल