• २०८१ श्रावाण ११ शुक्रबार

लोकप्रिया पुरस्कार १८ नारी स्रष्टालाई

साहित्यिक पत्रकार संघको हालै बसेको कार्य समितिको बैठकले वि. सं. २०६४ सालदेखि स्थगित लोकप्रिया पुरस्कार चयनका लागि गठित समितिको सिफारिस अनुसार पुरस्कृतहरुको नाम अनुमोदन गरेको छ । विसं २०६२ तथा २०६३ का लागि निर्णय भए पनि पुरस्कार दिन बाँकीसहित १८ वर्षको पुरस्कार १८ नारी स्रष्टालाई समर्पण गर्ने निर्णय गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् ।

सापसंले जनाए अनुसार पुरस्कृत हुनेहरूमा लक्ष्मीदेवी राजभण्डारी २०६२, डा. गार्गी शर्मा २०६३, प्रा. डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, उन्नति बोहरा “शीला” २०६७, गोमा शर्मा (गुवाहटी) २०६८, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७०, जलेश्वरी श्रेष्ठ २०७१, पूनम काफ्ले (अमेरिका) २०७२, गङ्गा कसजु २०७३, डा. ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री (दार्जीलिङ) २०७६, वीणा हाङ्खिम (दार्जीलिङ ) २०७७, डा. पुष्पा शर्मा (सिक्किम ) २०७८ र लतिका जोशी (सिलगढी) २०७९ रहेका छन् ।

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्यावती सिंह र पारश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार कार्य समितिले निर्रेणय गरेको हो ।

वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् । नगद तीन हजार एकसय राशि रहेको “लोकप्रिया पुरस्कार”बाट यसअघि साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुङ्गाना, अनिता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन् ।