भक्तपुर ।
दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुई गीत सङ्ग्रहमाथि आइतबार भक्तपुरमा चर्चा गरिएको थियो । सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका ‘फैलिन्छ कि माया’ र ‘सागर सुसेली’ पुस्तकको चर्चा गरिएको हो । गीतकार हरिहर तिमल्सिना र विमला राना मगरले पुस्तकमाथि टिप्पणी गर्दै उदासका गीतहरू सरल एवम् भावपूर्ण रहेको बताउनुभयो ।
वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक तथा अध्येता केशव सिग्देल, समाजका अध्यक्ष धनमान श्रेष्ठ र सचिव ध्रुव मधिकर्मीले गीतकार उदासलाई शुभकामना दिनुभएको थियो । उदासजीका गीतहरु मर्मस्पर्शी छन्, वरिष्ठ गीतकार ढुंगेलले भन्नुभयो, हृदयले लेखिएका गीतहरू मुटु छुने खालका छन् । कार्यक्रमस्थल परिपक्कव स्रष्टाहरूले भरिएको थियो । त्यसैगरी टिप्पणीकार राना मगरले पनि उदासको तारिफ गर्नुभयो। यी गीतमा आञ्चलिक स्वाद रहेको साथै विम्व र प्रतीकको राम्रो प्रयोग गरिएको उहाँको धारणा थियो ।
त्यसैगरी गीतकार हरिहर तिमिल्सिनाले पनि उहाँका गीतमाथि बोल्नुभएको थियो । लोकलयको स्वाद दिने गीतहरू मन छुने खालको भएको भन्दै उहाँले गीतकार उदासलाई बधाई दिनुभयो । विरही भावका गीत लेख्दै आउनुभएका उदास व्यवहारमा ज्यादै रसिक हुनुहुन्छ । उहाँको खास नाम अर्जुन अधिकारी हो । भक्तपुरको मायाले आफू ऋणी बनेको कार्यक्रममा उहाँले बताउनुभयो । कार्यक्रममा गीतकार उदासलाई सम्मान पनि गरिएको थियो। विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय भएर नेपाली साहित्यको उन्नयनमा योगदान पुर्याएस्वरुप उहाँलाई सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि ढुङ्गेलले सम्मानपत्र र काठको मयुर झ्याल दिएर सम्मान गर्नुभएको थियो ।
समाजका सचिव ध्रुव मधिकर्मीका अनुसार गीतकार उदास साहित्य सृजनासँगै समाजसेवा र व्यवसायमा सक्रिय हुनुहुन्छ। उहाँ गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले आमाबाबाको नाउँमा खुमपार्वती कलासाहित्य कोष गठन गरेर साहित्यकर्मको शुभारम्भ पनि गर्नुभएको छ ।कार्यक्रमको सुरुमै समाजका अध्यक्ष श्रेष्ठले कालो भादगाउँले टोपी लगाइदिएर उदासलाई स्वागत गर्नुभएको थियो । भक्तपुर भ्रमणमा आएका भारतका चर्चित लोककवि हल्दर नागलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो। भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित उहाँले आफ्नो मातृभाषामा एउटा कविता सुनाउनुभएको थियो ।