• २०८१ माघ २७ आइतबार

त्रास

 किशन पौडेल

किशन पौडेल

उसले लामो श्वास तान्यो एक छिन फोक्सो भित्र राख्यो र फाल्यो । पुनः तान्यो फाल्यो र लामो सुस्केरा हाल्दै आँखा चिम्लियो । अस्पतालमा अक्सिजन नपाएर छटपटिएका हृदय विदारक समाचारहरू उसको मानसपटलमा दौडिन थाले । जुरुक्क उठ्यो कोठाको एउटा कुनाबाट अर्को कुनामा पुगेर चर्किएको ऐना हेर्यो । आफ्नै अनुहार उसलाई भयभीत लाग्दै जान थाल्यो । मन भित्र गहिरो डरले डेरा जमाउदै गएको महसुस गर्यो ।

“हेर ! उजेली आत्मबल बलियो बनाउनुपर्छ तँलाई केही हुँदैन छिटो निको हुन्छ ल, यो टिम्मुर ज्वानो पानी तनक्क पार । पिँधमा रहेको यो टिम्मुर ,ज्वानो जिराको छोक्राहरू मुख भित्र राखेर चुस् । टिम्मुरले अक्सिजन लेबल बढाउँछ उजेली !“ तीन दिन देखि जरोले सिकिस्त श्रीमतीलाई हौसला दिँदै उम्लिरहेको पानी डेक्ची बाट खन्याउँदै एक गिलास श्रीमतीको नजिकै लगेर राखिदियो र सगै टाउको सुम्सुमाउदै बस्यो ।

जिन्दगीमा कयौँ पटक रुघाखोकी ज्वरो आयो होला । उसले सामान्य रूपमा अदुवा, बेसार, तातोपानी पिएरै भगाएको थियो । ऊ कहिल्यै यति धेरै आत्तिएको थिएन । आज उसको मन त्यसै त्यसै आत्तिइरहेछ । मन त्रसित भएको छ । समाचार हेर्यो जतासुकै हाहाकार छ । जताततै दर्दनाक दृश्यहरू देखिन्छ । अक्सिजन सकिएको छ रे हस्पिटलमा जरो आएको बिरामीलाई भर्ना नलिने रे ! अचम्म लाग्छ सुन्दा पनि यत्रो अक्सिजन छ हाम्रो वायु मण्डलमा कसरी सकिन्छ होला ! ?

उसको मन भित्र एक प्रकारको आक्रोश उब्जन्छ । समाचारहरूले पनि कति आतङ्कित बनाएका हुन । बिरामीको भन्दा नि सद्दे मान्छे कै कुन बेला प्राण लिएर जाने हो थाहा छैन । ऊ चिन्ताले छट्पटिदैँ आँगनमा आएर आकाश तिर हेरेर टोलाउन थाल्छ । आकाशमा एउटा हेलिकप्टर उसैको टाउको माथि मडारियो । खुसीले ऊ फुरुङ्ग हुँदै हेलिकप्टर लाई हेर्दै सोच्न थाल्यो कतै मेरै उजेलीलाई अस्पताल लिएर जान आएको त होइन ! ? हेर्दाहेर्दै हेलिकप्टर आकाशबाट ओझेल भैसकेको थियो ।

पुन्टेको बा ‘ ! पुन्टेको बा‘ ! भित्र बाट उजेलीले बोलाएको मधुरो आवाजले ऊ झसङ्ग भयो र दौडिएर भित्र हेर्न पुग्यो । पुन्टे आमाको छेउमा बसेर आमाको टाउको सुमसुम्याउँदै रहेछ । “मलाई धेरै गाह्रो भो, अस्पताल जान पाए हुन्थ्यो “ उजेलीको पीडा मिश्रित स्वरले ऊ झनै विचलित हुँदै गयो ।

खै कसरी अस्पताल सम्म पुर्याउने होला ! छरछिमेक हेर्न सम्म पनि आएका छैनन् सवारी साधन गाउँमा एउटै चलेको छैन । मर्दा पर्दा त मैले धेरैलाई ज्यानले सकेको सहयोग गरेकै थिएँ । आज आफूलाई पर्दा कोही भएनन् हरे शिव ! ऊ पुर्पुरोमा हात राखेर बिलौना गर्छ । गाउँ कै एक चिनजान प्रतिष्ठित हरिदाई लाई फोन लगायो फोन उठेन । “उजेली चिन्ता नगर बिहान सम्म तँलाई ठिक हुन्छ बिस्तारै जरो ओर्लिन्छ म पानी पट्टी लगाई दिन्छु । अहिले सुत उजेली ।“

बुढीलाई कोरोना त लागेकै होइन भन्ने कुरामा ऊ निश्चिन्त थियो । गाउँमा कुनै पनि मान्छे सँग बुढीको भेटघाट न सम्पर्क थिएन । लकडाउन भएदेखि आफ्नै बारीमा मकै गोडेर बसेकी थिइन । कतै गाउँ छर छिमेककोमा पनि गएकी थिइन् । कसरी सर्न सक्छ र कोरोना ? उसले मनमनै सोच्न थाल्यो ।फेरि गाउँलेहरू किन यति निर्दयी भएका होलान् है ! कस्तो दिन पनि देख्न परेको । पहिले पहिले बिरामी पर्दा गाउँमा कति धेरै मान्छेहरू कुर्नलाई जम्मा हुन्थे । एक आपसमा दुःख सुखका कुराहरू गरेर सहानुभूति दिँदै रातभरि बिरामी कुरेर बसिन्थ्यो । आत्मबल कति बलियो हुन्थ्यो । साँच्चिकै यो कस्तो निर्दयी कलियुग होला ! मान्छे भित्र संबेदनसिलता र मानवीयता हराउँदै गएको छ ।

मनभित्र अनेकौँ कुराहरू खेलाउँदै पुन्टेलाई सुताएर उजेलीसँगै छेउमा ऊ पनि निदाउने कोसिस गर्छ । मध्यरातमा उठेर बिस्तारै उजेलीको निधार छाम्यो चिसो न चिसो भैसकेको रहेछ । बेलुकी त्यस्तो भुग्रो जस्तो तातो थियो अहिले त बरफ जस्तै चिसो भइसकेको रहेछ । ऊ अतालियो । बुढी टाउको काखमा राखेर सुमसुम्यायो ।

“उजेली ‘! उजेली‘!”
इन्तु न चिन्तु आवाज विहीन चिसो मुडो जस्तै शरीर छामेर ऊ हतासियो । फेरि अङ्गालो हालेर भक्कानियो । सम्हालिन खोज्यो । निद्रामा मस्त सुतेको छोराको अनुहारमा पुलुक्क हेर्यो । बिहानै सधैँ “आमा” भन्दै बिउँझिने छोरो आमा बोलिन भने के सोच्छ होला । मन भित्रका तर्कनाले उसका आँखा रसाउन थाले । फेरी सम्हालिन खोज्यो । उजेलीले कल्पना गरेको छोरोको भविष्य सम्झिन्छ । छोरालाई पढाएर ठुलो मान्छे बनाउने एउटा सपना र आशाले अलिकति मन भित्र हौसला पलाउँछ । अब के गर्ने होला अन्योलग्रस्त भएर उसको मन अतालिन्छ । मुटुको धड्कन जोड जोडले धड्किरहेछ । मध्यरातमा बाहिर निस्केर कराउँदै चिच्याउँछ । कसैले उसको आवाज सुन्दैनन् । वडाका हर्ताकर्ता वडा सदस्य हर्क दाइलाई मध्यरातमा फोन गर्छ।
“कोरोना लागेको रिपोर्ट छ कि छैन ? रिपोर्ट भए भोलि आर्मी आएर लिएर जान्छन् छैन भने आफैँ गर्नुपर्छ दाह संस्कार । बिहान उतै घाटमा भेटुँला बोकेर लिएर आइज ।“
उसको खरो निर्दयी स्वरले उसको मन झनै दुखित हुन्छ ।

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथ सहयोगका भावनाहरू उर्लिन्थे । रात बिहान केहि भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथ सहयोग मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्यु जस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहारा विहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई । मस्त सुतिरहेको छोराको अनुहारमा पुलुक्क हेर्छ छोराको निधारमा हात राख्छ

“सुतिरहनु बाबु म आमालाई अस्पताल लिएर जान्छु । एउटा झुटो आश्वासन पनि उसलाई मिठो लाग्छ । जुरुक्क उठेर श्रीमतीको लासलाई सकी नसकी काँधमा बोकेर घर बाहिर निस्किन्छ । अँध्यारो बाटो कान्लाकुन्ली, कति पटक ठेस लाग्यो, कति काँडा बिझ्यो उसलाई अत्तोपत्तो छैन । झिसमिसे उज्यालोमा तल बगरको घाटमा पुग्यो । सुनसान, खोलाको कलकल आवाज बाहेक अरू केही थिएन । उजेलीलाई भुईँमा राखेर केही बेर श्रीमतीको मुहार हेरिरह्यो र एक्लै डाँको छाडेर रोयो । उसको रुवाईले शान्त निश्चल झिसमिसे प्रहरलाई नमिठो गरी चिर्यो ।

उज्यालो हुँदै गयो दुई चार जना गाउँलेहरूले दाउरा ल्याएर टाढै बाट फालिदिए । कोही उसका नजिक परेनन् ।
“अलि टाढै बस ! हामीलाई फेरि कोरोना सर्छ “ गाउँलेहरूको वचनले उसको मुटु झन् छिया छिया भयो ।
मन मुटु कठोर पारेर श्रीमतीको सग्लो देहमा आगो सल्कायो । छिनभर मै खरानी भएकी उजेलीलाई सम्झेर केहि बेर आँसु झारेर टोलाई रह्यो पुनः सुतिरहेको छोरालाई सम्झिएर झस्कियो र सम्हालिँदै बिस्तारै उठ्यो र घर तर्फ लम्कियो घरमा पुगेर छोरालाई लिएर ऊ सरासर स्वास्थ्य चौकी तर्फ लाग्यो आफ्नो र छोराको रगत टेस्ट गर्न दिएर आयो ।
दुई दिन पछि रिपोर्ट आयो कोरोना टेस्ट – नेगेटिभ


किशन पौडेल
हेटौंडा –४