काठमाडौँ, चैत्र ५, २०७८
वरिष्ठ कवि एवं गीतकांर कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ र वरिष्ठ कवि एवं गीतकार श्रीमती उषा शेरचनलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिए वापत रिजाल र शेरचनलाई पुरस्कृत गरिएको वानीरा फाउन्डेसनले जनाएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँरहेको छ भने ‘वानीरा पुरस्कार’को राशि पचास हजार रुपियाँको रहेको छ ।
डा. वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ । सोही अवसरमा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण गरिने कार्यक्रम संयोजक भगवती बस्नेतले जानकनरी गराएकी छिन् ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।