• २०८१ फागुन ६ मङ्गलबार

कवि रमेश श्रेष्ठको ‘मलामी पहाड र सारङ्गी’ लोकार्पण

विम्ब कवि रमेश श्रेष्ठको नवीन कविताकृति ‘मलामी पहाड र सारङ्गी’ लोकार्पण गरिएको छ । साहित्यपोस्टद्वारा आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरूले उक्त कवितासङ्ग्रह लोकार्पण गरे । सो अवसरमा डा. तीर्थबहादुर श्रेष्ठले रमेशका कविता बुझ्न कठिन भए पनि बुझ्दै जाँदा त्यसले मन छुने गरेको बताउनुभयो ।

साहित्यकार उषा शेरचनले रमेश वास्तवमै विम्बकवि भएको उल्लेख गर्नुभयो भने साहित्यकार अशेष मल्लले रमेशमा कलाचेत भएकै कारण उनका कवितामा फरकपना पाइने उल्लेख गर्दै भन्नुभयो, “पढ्ने किताब लेखिनुपर्छ, पाठकले खोजीखोजी पढ्छन् ।”

साहित्यपोस्टद्वारा आयोजित कार्यक्रममा यसका प्रधानसम्पादक अश्विनी कोइरालाले आफ्नो धारणा राख्नुभएको थियो भने कविहरू राजेन्द्र शलभ, मणि लोहनी, मनीषा गौचन, लक्ष्मी रुम्बा र कवि स्वयंले कृतिभित्रका कविताहरू वाचन गर्नुभएको थियो ।