• २०८१ असार ३२ सोमबार

साहित्यकार श्रीकृष्ण न्यौपानेको महाकाव्य ‘रातो बाघ’ सार्वजनिक

लमजुङ- पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले रातोबाघ नामको महाकाव्य प्रकाशित गरेका छन् । पछिल्लो समय पुस्तक प्रकाशनमा सक्रिय रहनुभएका कवि श्रीकृष्ण न्यौपानेको यो लेखनका हिसाबले तेस्रो तथा प्रकाशनका हिसावले पहिलो महाकाव्य हो ।
नयाँ बर्ष २०८० को अवसर साहित्यकार न्यौपानेले आज उक्त पुस्तक सार्वजनिक गरेका हुन । ११ सर्ग ११४५ श्लोक र २३ छन्दको प्रयोग भएको महाकाव्यमा पोखराका कवि एवं छन्द बचाउँ अभियान तथा महाकाव्य लेखन अभियानका अभियन्ता माधव वियोगीले भूमिका लेखेका छन् ।

प्रचलित, कम प्रचलित र अप्रचलित २३ वटा शास्त्रीय छन्दको प्रयोग भएको यो महाकाव्यभित्र छन्दको प्रयोग स्वभाविक देखिन्छ । छन्द प्रयोगका कारण कविताको भाव पक्ष कमजोर भएको छैन । कवि छन्द, भाव र विषयमा सचेती बनेका छन् । छन्दलाई सही बाटो र स्थान दिएका छन् । श्रीकृष्ण न्यौपाने अब कविबाट महाकाव्यकार बनेका छन् । महाकाव्यकार बनेका उनले भविष्यमा महाकविको दर्जा पाउनेमा म विश्वस्त छु । कवि वियोगीले भूमिकामा लेखेका छन् ।

महाकाव्य रचना गरि छापेपछि महाकाव्यकार, २ र ४ वटा महाकाव्य प्रकाशन पछि महाकवि भनिनु कुनै अनौठो कुरा होइन । महाकाव्य लेख्ने सबै देवकोटा हुँदैनन् । देवकोटालाई पनि महाकविको दर्जा राज्यले दिएको होइन, महाकाव्य लेखेकैले उनलाई जनताले महाकविको दर्जा दिएको हो । भूमिकामा कवि वियोगीले थप लेखेका छन् । महाकाव्यलाई शुभकामना दिनुहुँदै लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले छन्दका शास्त्रीय मान्यता भित्र बाँधिएर कविता लेख्ने चलन नयाँ पुस्तामा हराउँदै गएको वर्तमान अवस्थामा महाकाव्य लेखनका शास्त्रीय तथा आधुनिक मान्यतालाई प्रयोग गरि महाकाव्य लेखिनु सराहनीय विषय भएको बताए ।

महाकाव्य सार्वजनिक गर्दै महाकाव्यकार न्यौपानेले महाकाव्यका निम्न सिद्धान्त र लक्षणहरू प्रस्तुत गरेकाछन् ।
(बहुकथन)धेरै विषय तथा कथाहरू समेटिएको,
(बहुछन्द) धेरै छन्दहरूको प्रयोग हुनुपर्ने, वार्णिक छन्दको मात्रै प्रयोग हुनुपर्ने । झ्याउरे, मात्रिक लगायतका छन्दको प्रयोग महाकाव्यमा स्वीकार्य नहुने,
(साहित्यका अधिकाधिक रसहरूको उपस्थिति हुनुपर्ने,
(समित पात्रहरूले महाकाव्यको मर्म नसमेटिने हुँदा बहुपात्रको उपस्थिति हुनुपर्ने,
(कम्तिमा १० सर्ग र १००० श्लोक र हरेक सर्ग प्रस्तुतिमा आवश्यक श्लोकहरूको संयोजन,
(समसामयिक विषयवस्तुको प्रयोग सर्वोत्तम, प्रागैतिहासिक विषयवस्तु दर्शनको रूपमा प्रयोग हुन सक्ने,
(तत्काल समाजले नपचाउने दूरदर्शिता, कालान्तरको विसङ्गतिलाई व्यवस्थापन गर्ने सूक्तिकरण ।
जीवनको आधा शताब्दी समय नेपाली साहित्यको साधनामा खर्चेर, तीब्र लेखन गतिका साथ महाकाव्य लेखनमा होमिएका साहित्यकार श्रीकृष्ण न्यौपानेले आफूले एकदर्जन महाकाव्य प्रकाशन गर्ने लक्ष्य लिएको बताए ।