• २०८० असोज ८ सोमबार

टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’लोकार्पण

काठमाडौँ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार टंक वनेमको संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, पूर्व सदस्यसचिव जगतप्रसाद उपाध्याय, लेखक अर्जुनबाबु माबुहाङलगायतले उक्त कृतिलाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ताप्लेजुङको मौवाखोला–२ मा जन्मिएका साहित्यकार वनेमले लिम्बुवानको आदिम सभ्यतालाई लिएर आफ्नो अनुभव, अनुभूति र भोगाईलाई यथार्थ रूपमा उतारेका छन् । व्यक्तिगत, पारिवारिक विषय मात्र नभई भूगोल, पर्यावरण तथा पशुपंक्षी, कृषिबाली, लिम्बू जातिको लोक संस्कृति, सिन्धोलुङ फागो वनेम वंशावली, लिम्बू समुदायमा हिन्दु धार्मिक प्रभाव, ऐतिहासिक कागजपत्रहरू समेटेका छन् । साढे चार सय पृष्ठको कृतिभित्र ३९ शीर्षकमा ती सामग्री समेटिएका छन् ।

ब्रिटिस सेनाबाट अवकाश प्राप्त ५९ वर्षीय साहित्यकार वनेमले रणमैदानमा भोगेका पक्षसमेत समेटेका छन् । जसमा ‘स्वीताउको पाखोमा युद्धको पहिलो पाइतला’, ‘परेको मृत्यु र घरबारविहीन अंग्रेजहरू’, ‘क्लाउड लेभि–स्त्राउसको मिथक दर्शन र गिर्बोहरूका रहर’ शीर्षक यसका उदाहरण हुन् । वनेमका यसअघि ‘पेन्जिरि पेन्मिक्हाः’ (भूलगर्ने जोरी आँखा) लिम्बुभाषाको कविता संग्रह, ‘साँघुरी र बूढासुब्बा’, ‘संगीनको मूच्र्छना’ कवितासंग्रह, ‘सिन्धोलुङफागो वनेम वंशावली इतिहास र मुन्धुम’ र ‘श्लेष्मान्तकको साम्माङ’ कथासंग्रह प्रकाशित छन् ।

पूर्वकुलपति तथा मुन्धुमविद् काइँलाले वनेमको कृति यो वर्ष प्रकाशित मध्ये सर्वोत्कृष्ठ दसमध्ये एक भएको बताए । ‘लेखक वनेमले लिम्बू आदिवासीको आदिम भूगोल, प्रकृति पर्यावरणको धेरै अध्ययन, अनुसन्धान, तुलनात्मक अध्ययन समेत गरेर उत्कृष्ट कृति प्रकाशनमा ल्याएका छन्,’ कविका रूपमा देखापरेका वनेमले लिम्बू जातिको इतिहास, संस्कृति, सामाजिक पक्षमा पहुँच र्पुयाएर गहन अध्यता र सरल प्रस्तोताका रूपमा उभिएको उल्लेख गर्दै काइँलाले भने, ‘उनकै अगुवाईमा साढे चार किलो वजनको लिम्बू मुन्धुम मिथक अनुवाद सहित फागो वंशावली बृहत् संकलन यसै वर्ष प्रकाशित छ । उद्भिद र जीव, मानव इतिहास, लिम्बूको आदिवासित्व क्षेत्रको पक्ष विस्तृतमा उजागर गरेका छन् । विस्तृत भनेको आफ्नो विधामा हुने सौन्दर्य हो ।’

प्रतिष्ठानका पूर्व सदस्यचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले कृतिभित्र नेपाल एकीकरणको बेला खम्बुवान र लिम्बुवानमाथि भएको अत्याचारको विषयलाई प्रामाणिकता र चित्रात्मक रूपमा कृतिभित्र समेटिएको बताए । ‘गाउँघरको यादजनित उदासिनता, डायस्पोरिक जीवनको कुरा उनिएका छन्,’ लिम्बु मुन्धुमको स्मरण भएको उल्लेख गर्दै उनले भने, ‘वनेम एक हातमा बन्दुक अर्कोमा कलम सफल श्रष्टा हुन् । उनको लेखनीमा विश्व लेखन परम्परामा स्थापित छ ।’ कृति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशित गरेको हो ।