• २०८१ भाद्र २७ बिहीबार

खरेलको तेस्रो उपन्यास रानी तलाउ विमोचन

नेपालगञ्ज, । यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनु भएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानी तलाउ’ नेपालगञ्जको ऐतिहासिक रानी तलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मी, प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरिप्रसाद तिमिल्सिनाले संयुक्तरूपमा विमोचन गर्नुभयो । समालोचकहरू लेकप्रसाद प्याकुरेल र चरित्रा शाहले कृतिमा समेटिएका विषयवस्तु, लेखनशैली र उपन्यासले दिन खोजेको सन्देशमाथि चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्दै प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार रेग्मीले रानी तलाउ उपन्यास गम्भीर पाठकका लागि नभएर युवालाई मध्यनजर गरेर लेखिएको उपन्यास भएको बताउनु भयो । वरिष्ठ साहित्यकार किरण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज आसपासका दुईदर्जन भन्दा बढी साहित्यकारको उपस्थित रहेको थियो ।