काठमाडौं । साहित्यकार इल्या भट्टराई लिखित नियात्राकृति ‘मिसर’ एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । अक्षर क्रिएसन्स नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले उक्त कृतिलाई सामूहिक रूपमा सार्वजनिक गरेक थिए । कार्यक्रममा बोल्दै नियात्राकार जय छाङ्छाले नियात्रा लेखनले आउने समयमा इतिहास लेख्न मद्दत गर्ने बताए । उनले नियात्रा अनौपचारिक तबरमा इतिहास नै भएको दाबी गरे ।
नियात्राको सिद्धान्तसम्बन्धी पुस्तक समेत लेखेका छाङ्छाले विश्वको नियात्रा लेखन परम्पराको चर्चा गर्दै भने, “कुनै पनि भ्रमणलाई लिपिवद्ध गर्ने हो भने त्यसले इतिहाससँगै भूगोल, संस्कृति, समाजलाई स्पष्ट देखाउँछ ।”उनले ‘मिसर’ भित्रका नियात्राहरूको चर्चा गर्दै यो महत्त्वपूर्ण कृतिका रूपमा आएको बताए । कार्यक्रममा वक्ता डा. गीता त्रिपाठीले इल्या भट्टराईको नियात्रामा व्यापक दृष्टिकोण समेटिएको बताउँदै कृतिमा अनुभूतिको गहिराई भेटिने उल्लेख गरिन् ।
डा. त्रिपाठीले भनिन, “इल्या भट्टराईको यस कृतिमा जीवन दर्शनको उचाइ परिपक्वरूपमा आएको छ । कृतिभित्रका नियात्राहरू जीवनसँग नजिक भएको मैले पाएँ ।” उनले इजिप्टको प्राचिन परिवेश ‘मिसर’मा भेटिने उनले बताइन् । नियात्राकार भट्टराईले मिश्रलाई ‘मिसर’भन्ने गरिएको बताउँदै उक्त शब्दलाई नै कृतिको शीर्षक बनाएको उल्लेख गरिन् । उनले यात्राको भोकले साहित्य पढ्ने र लेख्ने रुचि जगाएको बताउँदै यात्राकै भोकले यो र यस्ता अरू पनि कृति जन्मिएको बताइन् ।
उनले भनिन, “यो कृति मैले लेखेको भएपनि यसमा मिहिनेत अर्चना थापाजी र डा.रजनी ढकालको पनि उत्तिकै छ ।” कार्यक्रममा कथाकार तथा अक्षर क्रिएसन्सकी अर्चना थापाले यो कृति कृतिकार भट्टराईको पाँचौ नियात्रा कृति भएको बताउँदै उनको लेखनीको चर्चा गरिन् ।