समाचार

काठमाडौं, माघ ।
कवि जानु धितालको प्रथम कवितासंग्रह ‘छाउगोठकी आमा’ कवितासङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सो कृतिको लोकार्पण र परिचर्चा गरिएको हो । कार्यक्रममा साहित्यकारहरू पवन आलोक, स्नेह सायमी, श्रीओम श्रेष्ठ रोदन, नगेन्द्रराज शर्मालगायतले संयुक्त रूपमा उक्त कवितासंग्रहको विमोचन गरेका थिए । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यता तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रम कवि विधान आचार्यले सञ्चालन गरेका थिए ।
डा. गिरीले कविताले नारी चेतनाको विषयमा कविता संग्रह उत्कृष्ट भएको बताइन् । उनले अहिले पनि छाउगोठबाट महिलाहरू पीडित भएको भन्दै यो कविता संग्रहले जिवन्त विषयलाई उठान गरेको बताइन् । इतिहासदेखि देखिएको तर उठान कम भएको विषय नारी चेतनाको विषय भएको भन्दै उनले नारी चेतालाई मुख्य विषय बनाएर कवितासंग्रह प्रकाशन गर्नु नै सबैभन्दा राम्रो विषय भएको बताइन् । आज पनि नारीहरू छाउबाट पीडित छन् । महिनावारी हुन वा महिला हुनु प्राकृतिक र जैविक विषय भएपनि यसलाई समाजले फरक दृष्टिबाट हेर्ने गरेको विषय साहित्यमा राम्रो ढंगले उठान गर्नुपर्ने उनको भनाइ छ ।
कविता कै विषयमा आफ्नो धारणा राख्दै सायमीले यो कविता संग्रह एउटा व्यङ्ग्यात्मक शैलीमा भइरहेको विषयलाई मिहिन रूपमा उठान गरिएको बताए । अहिले पाखण्डी समाजमा कविता ठुलो व्यङ्ग्य भएको उनको भनाइ छ । धितालको पहिलो कविता संग्रह नै सशक्त र प्रखर रहेको भन्दै यसलाई निरन्तरता दिँदै अगाडि बढ्न सुझाब दिए । प्रा. डा. भरत कुमार भट्टराईले यो कविताले पुरुष सत्तामाथि कडा प्रहार गरेको बताए । लैगिंक असमानतालाई मिहिन रूपमा उठान गरेको उनले बताए । समय र परिवेश अनुसार सशक्त कविता संग्रह भएको भन्दै उनले आगामी दिनहरूमा पनि यस्तै कविता संग्रह आउनेमा आशावादी भएको बताए । शुभकामना दिँदै पवन आलोक र नगेन्द्रराज शर्माले यो कविता राम्रो उत्कृष्ट भएकाले आगामी दिनमा पनि यस्तो कविता आउनेमा आशावादी भएको भन्दै शुभकामना दिए । नेपाली र अंग्रजीभाषामा प्रकाशित यो कविता संग्रह २९ वटा कविता रहेको छ ।