• २०८२ भाद्र २९, आईतवार

तिमीविनाको मेरो अस्तित्व

बसन्त चौधरी

बसन्त चौधरी

यो निर्मल वातावरणमा
मायालु
तिमी आऊ
मलाई आफ्नो बनाऊ
तिमीविना कुनै मेरो
अस्तित्व छैन
उसो त म नभए पनि
दुनियाँ रित्तिँदैन
तर
तिमी नहुँदा
म रित्तिन्छु
बाँकी नभई एक थोपा

म तिमीमा बाँचेको हुन्छु
सम्पूर्ण सिद्धिन्छु
तिमी नभए

किन यस्तो लाग्छ
म भन्न सक्दिनँ
तिमीविना आफ्नो जीवन
म मान्न सक्दिनँ
खोज्न सक्दिनँ
कहाँ छ देख्न सक्दिनँ

तिमी अँगालोमा पाउँदा
जहिले पनि लाग्दछ
मैले संसार पाएको छु

लाग्छ,
तिम्रा रसिला ओठहरू
माया भरिएका फल हुन्
मुस्कान तिम्रा,
नदीको कलकल जल हुन्
तिम्रा आँखा
भरिएका अमृतका घडा हुन्
बास बस्छ केशमा रात
घुमिरहन्छन्,
आवाजहरू मायाका,
मलाई तिम्रा ओठले जस्तै,
चुमिरहन्छन्

तर तिमी नहुँदा
मन–तरङ्गहरू
खल्लो लाग्छन्
किन हो किन
मनमोहक दृश्यहरू पनि
दलदल लाग्छन्
यी सारा वरिपरि
कठोर लाग्छन् निर्मम लाग्छन्
त्यसैले
क्रूरता र निर्ममताको
दुनियाँदेखि,
मलाई जोगाऊ

मेरो जीवन !
मलाई जोगाउन,
तिमी आऊ !

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)