• २०८१ फागुन १ बिहीबार

एक्लोपन

बसन्त चौधरी

बसन्त चौधरी

उमेरभरिको एक्लोपन
छचल्किन्छ कविता बनी
यो चिसो मौसममा पनि
चारैतिर सल्किन्छ आगो बनी
मनले पर्खेको छ
कोही आउँछ कि भनी
वनले पर्खेको छ
कोइली गाउँछ कि भनी
सुनसान छ चारैतिर
चकमन्न छ, एकलास छ
तर पनि तिमी
आउँछौ भन्ने आश छ

मनले नै गर्छ यो
उसकै तिर्सना हो
मूर्खता यस्तो
पानीमा नाउँ लेख्नुजस्तै हो

म कसलाई कुर्दैछु
यो पनि थाहा छैन,
कोही आउँछ, आउँदैन,
त्यो पनि थाहा छैन
लाग्दछ यो जङ्गलमा
रुखलाई अङ्कमाल गरूँ,
मनभरिको उदासीमा
वनभरिको हरियोपन भरूँ
लाग्दछ कोही छ यहाँ
मेरा ओठहरू औँलाले चुम्छ
चारैतिर सुगन्ध छर्दै
मेरो अस्तित्वभरि घुम्छ

मलाई लाग्छ,
मेरो एक्लो दुनियाँमा पनि
कोही छ
जो मेरो मायाको आवाज सुन्छ

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)