• २०८० जेठ १७ बुधबार

गंगाप्रसाद उप्रेतीद्वारा लिखित संस्मरणात्मक निबन्धहरूको कृति ‘स्मृति–बिम्ब’ सार्वजनिक

काठमाडौँ  ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीद्वारा लिखित संस्मरणात्मक निबन्धहरूको कृति ‘स्मृति- बिम्ब’ सार्वजनिक भएको छ । उप्रेतीका अनुसार उक्त पुस्तक व्यक्ति केन्द्रित संस्मरणहरूको संग्रह हो ।जीवनमा भेटेका, सहकार्य गरेका र उनीहरूका सत्कर्मबाट प्रभावित भएका विभिन्न १६ जना व्यक्तिहरूलाई विषय बनाएर लेखिएका संस्मरणात्मक निबन्धहरूको संग्रहलाई शमी साहित्य प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको हो ।

संग्रहभित्र ‘मेरा बा’, ‘मेरी आमा’, ‘वरिष्ठ भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको सम्झनामा’, ‘बैरागी काइँलासँग भएका सहकार्यबाट प्राप्त अनुभव’, ‘वरिष्ठ वामपन्थी बुद्धिजीवी गोविन्दप्रसाद लोहनीको सम्झनामा’, ‘स्मृतिमा कोशु दाइअर्थात् केशवप्रसाद कोइराला’, ‘अनुवादमार्फत् नेपाललाई विश्वसँग जोड्ने स्रष्टा कृष्णप्रकाश श्रेष्ठ’ लगायत शीर्षकका संस्मरणहरू समाविष्ट छन् ।

यसैगरी संग्रहभित्र मूर्तिकलाको व्यासासनबाट मोक्षका भजन गाउने स्रष्टा ‘ठाकुरप्रसाद मैनाली’, ‘प्रतिबद्ध वामपन्थी बद्धिजीवी: महेश्वरमान श्रेष्ठ’, आफ्नै बलबुताले उठेका ‘केवली तथा जमुना सेडाईं’, ‘झापाका छन्दकवि रोहिणीविलास लुइँटेल’, ‘कोभिड- १९ले खोसेर लगेका मेरा साथी मोतीबहादुर इङ्नाम’, ‘स्मृतिमा सधैँ रहने विष्णुराज आत्रेय’ रहेका छन् । उप्रेतीले सबै निबन्धहरू एक वर्षभित्र लेखिसकेको बताएका छन् ।

उप्रेतीको यो पन्ध्रौं कृति हो । यसअघि उनका ‘स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४)’, ‘दृष्टिकोणका विविध बिसाउनी’ (समालोचना, २०४६), ‘व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८)’, ‘इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७)’, ‘बेसिक नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००८’), ‘तिब्बतमा दस दिन (नियात्रा)’, लगायत कृतिहरु प्रकाशित छन् ।