• २०८२ भाद्र २९, आईतवार

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुँदै, ३४ राष्ट्र सहभागी हुने

नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा तीन दिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी मंसिर २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको राइजिङ मलस्थित क्यूएस हलमा उत्घाटन समारोह हुनेछ । समारोहमा ३४ राष्ट्र सहभागी हुनेछन् । चलचित्र विकास बोर्ड, राइजिङ मल र राष्ट्रिय नाचघर गरी तीन स्थानमा चलचित्र प्रदर्शन गर्ने आयोजकको तयारी छ ।

नेपालसंगै भारत, इरान, संयुक्त राज्य अमेरिका, चीन, टर्की, बंगलादेश, क्यानडा, ब्राजिल, ट्युनेसिया, श्रीलंका, पोल्याण्ड, फिलिपिन्स, लाटिभा, जर्मनी, अर्मेनिया, बेलायत, जापान, इटाली, फ्रान्स, ग्रीस, लेभना, नेदरल्याण्ड, क्यामरुन, कम्बोडिया, बेल्जियम, युएइ, साउथ अफ्रिका, हंकङ, इजिप्ट लगायतका देशका ख्यातीप्राप्त चलचित्रकर्मी सामेल हुनेछन् ।

उक्त क्रममा नेपालका ३४ वटा नेपाली र सहभागी राष्ट्रका ७२ वटा गरी १०६ वटा चलचित्र प्रर्दशन हुने आयोजक संस्थाका निर्देशक सन्तोष सुवेदीले जानकारी दिए । उनका अनुसार फिचर फिल्म, डकुमेन्ट्री फिल्म, सर्ट फिल्म, चिल्ड्रेन फिल्म, इन्भारन्मेन्टल फिल्म, वुमेन फिल्म, हुमन राइट फिल्मस् प्रदर्शन हुनेछ । उत्कृष्ट ३० विधाका चलचित्रलाई सम्मानित गर्ने आयोजकको तयारी छ । सात जनाको अन्तर्राष्ट्रिय स्तरको जुरीले गर्ने निर्णयकाआधारका पुरस्कार वितरण गरिने निर्देशक सुवेदीले बताए । पुरस्कार वितरण २४ गते चलचित्र विकास बोर्डमा हुनेछ ।