• २०८१ माघ ११ शुक्रबार

हृदयको कामना

बसन्त चौधरी

बसन्त चौधरी

समयका कथा- व्यथाले
कोरिएका जीवनका फाँटहरू
साँझको पहेँलो किरणजस्तै
अनुभूतिले पाकेका बालाहरू
हृदयमा झुल्छन् भावहरूको सुवास बनेर
कहिले सुसाउँछन् चैतको बतास बनेर

यो आत्मारूपी निस्पृह सानो दीपक
बलिरहन्छ, जलिरहन्छ
आँधीहुरी र अन्धकारको माझ
अनुरागको क्षणमा कहिले विराग सुसेल्दै
विरागको क्षणमा कहिले आशाले गाउँदै

जीवनले चढेका र झरेका
उकाली- ओरालीहरूमा
भेटिएर छुट्टिएका
यात्री र सहयात्रीहरूमा
आँसु र हाँसोका फरकफरक गोलाद्र्धमा
अशेष अनुभूतिलाई
प्राणसँग थाती राख्दै
बितेका पलहरू
र आउने पलको मध्यमा
हृदयले यही कामना गर्छ

क्षणमय जीवनका यी तत्त्वमाझ
अनित्य रङका ऋतुहरूका साथ
जीवन सङ्गीतमय बनोस्  !
जीवन गीतमय बनोस्  !
जीवन छन्दमय बनोस्  !
जीवन कवितामय बनोस्  !

सफल रहोस् मानुष- जीवनको यो यात्रा ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)