समाचार

म चाहन्थेँ, सधैँ सग्ली आमाका काखमा बसूँ,
बगरे झैँ तिमी काटी- काटी भाग लगाउँछौ !
म त सगरमाथा यो शिरमै राख्छु भन्दथेँ,
तिमी पराइ बोलाई शिरमै टेक्न लाउँछौ ।
पौडँदै यी नदी नाला चाहन्थेँ शुद्ध भै रहूँ,
तिमी यै तीर्थमा आफ्ना मलमूत्र मिसाउँछौ !
म गौरव गरूँ भन्थेँ भाषा, संस्कृति, भेषको,
तिमी लत्रेर अर्कैको खुट्टा ढोग्न लगाउँछौ !
चाहन्थेँ स्वावलम्वी भै गरूँ उद्यम देशमा,
तिमी उद्योगका ढोका थुनी ताल्चा लगाउँछौ !
चाहन्थेँ विश्वमै हाम्रो अलग्गै पहिचान होस्,
तिमी देखा सिकी गर्दै अरू झैँ हुन लाउँछौ !
बालबच्चाहरू जागून् भन्थेँ नैतिक पाठले,
तिमी भ्रष्टहरूलाई नमस्कार गराउँछौ !
म त सेवक हूँ भन्दै, मन जित्छौ जसो तसो,
उल्टै मालिक झैँ बन्छौ, धाक- धक्कू लगाउँछौ !
म चाहन्थेँ, सधैँ राम्रा उज्याला कविता पढूँ,
तिमी त विषझैँ तीतो मात्र पोख्न लगाउँछौँ !
प्रभा भट्टराई आचार्य, तहाचल, काठमाण्डौँ ।