कविता

जसरी
मनभित्रभित्रै विचार आउँछ चुपचाप
जसरी
कोपिलामा फूल आउँछ मौन
जसरी
आँखामा खुशीको आँसु आउँछ हलचलरहित
जसरी
उजाड वनमा आउँछ वसन्त हरित निस्तब्धतासहित
तिमी आउँदा
यस्तै असंदिग्ध गोप्यता कायम राख्दै आउनू
बरू आएपछि तिमी
भयङ्कर चट्याङको जस्तो गर्जनले हृदय हल्लियोस् ।
बरू आएपछि तिमी
घृणाको हज्जारौं वर्ष पुरानो कठोर हिमशिला
मुटुभित्र चिताग्नि बाल्दै पग्लियोस्
बरू आएपछि तिमी
भयावह विष्फोटका आवाजहरूले
कानको जाली फुटे पनि फुटोस्
बरू आएपछि तिमी
यहाँको मुर्दा शान्तिलाई केही समय
अशान्तिको झरीले चुटे पनि चुटोस्
बरू आएपछि तिमी
प्रचण्ड आँधी- बेहरी मच्चाउनू
र असमानताका सारा प्रतीक उडाउनू
तिमी अवश्य आउनू ‘विप्लव’ !
शङ्कालाई चिर्दै आउनू
हल्लालाई फाँड्दै आउनू
शोषणलाई गाड्दै आउनू
निरङ्कुशतालाई बढार्दै आउनू
–अविनाश श्रेष्ठ