लघुकथा

काठमाडौं/ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सार्वजनिक गरिएको उक्त पुस्तक चिकित्सकहरू परिधि शर्मा र अल्पणा पाठकले लेखेका हुन् । उक्त पुस्तक लोकार्पण कार्यक्रममा प्रमुखअतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, अतिथि तथा विशेष अतिथिहरू नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मतीप्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछाने, नीलहिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की निर्देशक पिङ्की गुरुङ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, पुस्तकका सल्लाहकारहरू माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त रूपमा पुस्तक लोकार्पण गरिएको थियो ।
पुस्तकका सर्जकमध्ये एक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा कसरी बन्यो भन्नेबारे आफ्नो अनुभव साझा गरिन् । आफूलाई सानैदेखि चित्र कोर्ने रहर भएपनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन् । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आफूभित्र रहेको चित्रकारिता फेरि प्रस्फुटित भएको उनको भनाइ छ । ‘लकडाउनको समयमा डर, त्रास र दुःखबीच चित्र मेरो साथी बन्यो । चित्रहरूले मलाई यी आवेगसँग जुझ्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बने । मसँगै मेरी सहपाठी अर्पणाले पनि त्यस्तै गर्थिन्,’ उनले थपिन् । आफ्ना चित्रहरू मण्डला र मिथिला शैलीबाट प्रभावित भएको उनको कथन छ । त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको शर्माले बताइन् ।
‘लकडाउनकै समयमा हामीले एक नेपाली महिला र अर्की भारतीय महिला बीचको प्रेम सम्बन्धबारे थाहा पायौं । परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरू प्रेम जोगाउन अमेरिका जानुपरेको सुन्यौं,’ उनले भनिन् । समाजले नस्विकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? उनीहरूले अरू कति ठूला सामाजिक विभेद र समस्या झेल्नु पर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको नजिक भएको र उनीहरूकै कथालाई चित्रको रूप दिने निचोडमा पुगेको सर्जक शर्माको भनाइ छ ।
पुस्तकको रचना गर्भबारे बोल्दै शर्माले भनिन्, ‘चित्रकालागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती मैले देखेको र सुनेको भन्दा बेग्लै थिए । ती पात्रहरूको व्यथा, दुःख र भोगाइ हर कोहीले कल्पनासमेत गर्न नसक्ने खालका थिए ।’ उनले थपिन्, ‘जसले भोगे ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् ? त्यसैले यस पुस्तकका हरेक पानापाना मात्र नभएर जीवन कथा हुन् ।’ अन्ततः यस पुस्तक प्रकाशनलाई साहित्य, कला र समाज प्रतिको दायित्वका रूपमा फाइनप्रिन्टले ग्रहण गरेको उनको भनाइ छ ।नेपालको सन्दर्भमा ‘एलजिबिटि आइक्यू’ समुदायका लागि बनाइएको यो पहिलो कलरिङ बुक भएको सर्जक साथै पुस्तकको सल्लाहकारहरूको दाबी छ ।
समाज हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि गर्वका साथ कुनै विभेदबिना बाँच्न योग्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुनै यस पुस्तकको मूल उद्देश्य रहेको सर्जक शर्माको भनाइ छ । ‘म मानिस हुँ र म महिला भएर बाँचिरहेकी छु । मलाई यसमा गर्व छ । मैले बच्चैदेखि पाएको साथ र समर्थनले गर्दा यो सम्भव भएको हो । तर आफ्नो लैङ्गिक पहिचानकै आधारमा कतिले यो अवसर पाउँदैनन् । यस्तो अवसर सबैले पाउनुपर्छ । र सबैले आफूप्रति गर्व गर्न पाउनुपर्छ भन्ने सन्देश यो किताबले दिन खोजेको हो,’ शर्माले भनिन् ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरातन समाजलाई नै परिवर्तन गर्ने पुस्तक लोकार्पण समारोहमा सहभागी हुनपाउँदा आनन्दित भएको बताए । उनले यस सिर्जनालाई ‘एलजिबिटि आइक्यू’ समुदायले भोगेको कठिनाइहरूको प्रस्तुतिको संज्ञा दिए भने, ‘चित्रहरूमा उनीहरूको पीडा अभिव्यक्त भएका छन् । यस किताबले समाजमा भएको अन्याय निवारणमा सहयोग पु–याउँछ, भावनाहरूलाई व्यक्त गर्न सिकाउँछ र अधिकारका लागि बोल्न प्रेरित गर्छ । समाजमा भएका नकारात्मक कुराहरूमा सुधार र परिवर्तन ल्याउन म थप कोसिस गर्छु,’ उनले भने ।