समाचार

नेपाली परम्परागत संस्कृतिक चाड पर्वहरुको आफ्नो महत्व छ । चाडपर्वसंगै उपभोग गरिने खानेकुराहरुको अझ धेरै महत्व छ । विभिन्न चाडवाडका विभिन्न प्रतिनिधि खानेकुरा हुन्छन् । तर हामीलाई पर्व र आद्यान्नको सम्बन्ध र महत्वबारे जानकारी नै छैन् । यस कृतिमा घिमिरेले परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिकपक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् ।
यहीक्रममा खाद्यतथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । उनले नेपालीखानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी दिएका छन् । पुस्तकमा नेपाली चाडपर्वहरू दशैँ, तिहार, चैते-दशैँ, माघे सङ्क्रान्ति, पन्ध्र पौष आदि तथा विवाह, व्रतबन्ध, पूजा आजामा बनाइने परम्परागत घरेलु परिकारले मौसम अनुरूप मानव स्वास्थ्य प्रवद्र्धनमा खेल्ने भूमिका र प्रभावबारे चर्चा परिचर्चा छ ।
पृथ्वीमा भएका सबै कुरा कसरी एक आपसमा जोडिएका छन भन्ने बारे उनले प्रष्टाएका छन् । नेपाली परम्परागत खानाले शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवद्र्धनमा कस्तो भूमिका खेल्दै आएको छ र त्यसले मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्माणमा कसरी बढावा दिइरहेको छ भन्ने तथ्य समेत पुस्तकले उजागर गरेको छ ।
उनका नेपाल केन्द्रित अध्ययन परम्परागत वैदिक ज्ञान, संस्कृति, स्थानीय जडिबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वले रोग निको पार्ने औषधिका विषयमा केन्द्रित छन् । उनले नेपालका रैथाने जडिबुटीमा आधारित उद्यमशिलताको विकासको सम्भावना समेत विस्तृत अध्ययन, अनुसन्धान गरेका छन् ।
दुई दशकदेखि क्यानडामा खाद्यतथा औषधिको प्रयोगात्मक अनुसन्धानमा संलग्न घिमिरेले नेपाली रैथाने जडिबुटीमा आधारित खानाले मधुमेह, पीएसपी, जनै खटिरा, अटिजमलगायतका जटिल तथा जीर्ण रोग र मानसिक स्वास्थ्य समस्याको उपचार गर्नेबारे लेखेका छन् । यी रोगको समाधानगर्ने नयाँ तरिकाको आविष्कार हुन सके उपचारका नाममा आयातित ओखतीमा असीमित रकम खर्च गर्नुपर्ने बाध्यता केहीहदमा कमहुने देखिन्छ ।
यस पुस्तकले आधुनिक वैज्ञानिक उपलब्धिलाई पाँच हजार वर्ष पुरानो वैदिक सिद्धान्तसँग जोड्ने घिमिरेको विश्वास छ । नेपाली भाषामा लेखिएको उक्त कृति शिखाबुक्सले बजारमा ल्याएको हो ।