अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको प्रायोजनमा ‘अपराध- सुधार’ कवितासंग्रहको लोकार्पण सम्पन्न गरिएको छ ।
क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय साहित्य समाज नेपालबोर्ड अफ ट्रस्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केदारभक्त माथेमाले नेपालमा भ्रष्टचार संस्कारका रूपमा विकास भएको र यसलाई तोड्न साहित्यकार, लेखक र कलमवालाले रचनाद्वारा विरोध र प्रतिरोध गर्दै समाज जागृत गर्नुपर्ने धारणा राखेका थिए । यसैगरी भ्रष्टाचारका अनेकन रूप परिकार र स्वभावको चर्चा गर्दै प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले समयको महत्त्व र गरिमा भुल्नु पनि भ्रष्टाचार रहेको बताए । उनले भने, “भाषिक अपराधमा आँखा चिम्लेर बस्न हुँदैन । यसतर्फ सबै सचेत हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै साहित्यकार प्रतीक ढकालले भने, “हामी जिउँदो रहुन्जेल भ्रष्टचारको विरोध गर्न छाड्दैनौँ, भ्रष्टचारीलाई नमस्कार र सदाचारीलाई नमस्ते गरुन्जेल भ्रष्टचार कम हुँदैन ।” यसैगरी साहित्यकार महेशविक्रम शाहले अपराधको निषेध र विरोधका लागि साहित्यकार र समाजका प्रबुद्ध व्यक्तिले निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कृतिकी कार्यकारी समपादक रञ्जना निरौलाले कविता संकलन र सम्पादनका कठिनाइबारे बोल्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिइन । लोकार्पित पुस्तक ‘अपराध- सुधार’बाट पाँचजना कवि ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल, गोपिकृष्ण प्रसाई तथा सुमन वर्षाले कवितावाचन गरेका थिए । पुस्तक प्रकाशनको रचना गर्भबारे अपराध सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पारेका थिए ।