• २०८१ असोज २९ मङ्गलबार

रङ्गहीन जीवन

बसन्त चौधरी

बसन्त चौधरी

मान्छे समयलाई
समाउन चाहन्छ र
चाहन्छ भर्न त्यसमा
मन लागेको रङ
मान्छे युगलाई बाँध्न चाहन्छ
चाहन्छ कोर्न त्यसमा
मन लागेको आकृति
चाहनैचाहनाको भीडभाडमा
सधैँ त्रसित, तृषित
थाहा हुँदैन
समयले कोरेको
क्यानभासमा आफैँ
बनिसकेको हुन्छ यौटा
अमिट चित्र
मनलागी पोतेको छ समयले
उसका हजार सपनाहरूमा
बेरङ्गे रङ्ग
बेढङ्गे आकृति

फगत बनेको छ ऊ
चाहनाका अनन्त प्रयासमा
रङ्गहीन चित्र र रङ्गहीन मन !

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)