• २०८२ भाद्र २९, आईतवार

ममता मृदुलको ‘समकालीन लघुकथा विवेचना’लोकार्पण

साहित्यकार ममता श्रेष्ठ मृदुलको समकालीन लघुकथा विवेचनाको विमोचन गरिएको छ । वरिष्ठ कथाकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा राजधानीको बत्तीसपुतलीस्थित तृप्ति रेस्टुरेन्टमा बिहीबार आयोजित एक समारोहकाबीच साहित्यकारहरू प्रा.डा. सावित्री मल्ल कक्षपति, बरिष्ठ कथाकार पद्मावती सिंह, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सचिव तुलसीहरि कोइराला, स्रष्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभाव इच्छुक, कृतिका लेखक ममता मृदुल, प्रतिलिपि अधिकार कार्यालयका रजिस्टार विष्णुकुमारी भट्टराईले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरे ।

कार्यक्रमा बोल्दै प्रा.डा. सावित्री मल्ल कक्षपतिले नेपाली लघुकथा समालोचनाका क्षेत्रमा नवीन कृति आएको बताइन । उनले भनिन् “विधातात्त्विक समालोचनाका आधारमा यो कृति आएको छ । लघुकथा विधा अत्यन्त लोकप्रिय बनेको र यसमा मेरो बहिनी पुस्ताले प्रतिनिधित्व गरेकोमा अत्यन्त खुसी लागेको छ ।”बाहिरबाट यो कृति लघुकथा सङ्ग्रह जस्तो देखिए पनि समालोचनात्मक कृति रहेको उनले बताइन । साथै फेसबुक जस्तो डिजिटल मिडियामा आएका लघुकथाहरू सामग्री स्रोतका रूपमा सङ्कलन गरिएकाले यसले नयाँ पद्धतिको सुरुवात गरेको उनले बताइन ।

कार्यक्रमा प्रतिलिपि अधिकारको कार्यालयकी रजिस्टार विष्णुकुमारी भट्टराईले कुनै पनि विधाको गहन अध्ययन र विश्लेषणबिना समालोचना गर्न नसकिने बताइन । उनले भनिन, “लघुकथालाई गहिरो अध्ययन र विश्लेषण गर्नु चानचुने कुरो होइन । यस कार्यका लागि उहाँले ठूलो साहस गर्नुभएको छ ।”उनले ममताको साहित्यिक यात्रा अझ अघि बढोस् भन्ने शुभकामना पनि दिइन ।

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कथाकार पद्मावती सिंहले आफूले लामाखालका कथा लेखे पनि लघुकथा थोरै मात्र लेख्न सकेको बताइन । उनले भनिन, “आफू पनि कथाकार भएकाले लघुकथा लेखनबारे जानकार छु । लघुकथालाई चोटिलो र प्रहारात्मक पार्नुपर्ने भएकाले यो ज्यादै कठिन कार्य हो । अझ त्यसको समालोचनात्मक कृति अझ महत्त्व पूर्ण छ ।” पछिल्लो विधालाई बहिनी पुस्ताले नेतृत्व गरेकोमा आफू हर्षित बनेको उनले बताइन ।

लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले समालोचनाको पुस्तकाकारका रूपमाआएको यो पहिलो पुस्तक भएको बताए । उनले भने “लघुकथा सङ्ग्रहका पुस्तक, लघुकथाको विधा सिद्धान्त र फुटकर समालोचना प्रकाशित भएपनि कृतिगत तहमा यो नै पहिलो पुस्तक हो । ”यसभित्र केही कमी कमजोरी होलान त्यसको समीक्षा र सुधार हुँदै जाने र लघुकथाको यो पुस्तक आउनु आफैँमा एउटा उपलब्धि भएको उनले बताए ।