साँझको छायाँमा
म जीवनको अन्धकारले
ऐना हेरेको देख्छु ।
देख्दा देख्दा,
केही बदलिएको देखिँदैन
तैपनि कतै केही छ
जुन हेर्न चाहेता पनि
यहाँ देखिँदैन ।
म तिमीलाई
छुन सक्तिनँ
जसरी चन्द्रमालाई
छुन सकिँदैन ।
तर,
तिमी र चन्द्रमामा
एउटा फरक छ,
चन्द्रमा कहिलेकाहीँ
मेरो झ्यालतिर
डुल्न आउँछ,
तिमी आउँदिनौ ।
अलिपर
विनापानीको
एउटा उदास पोखरी छ
म त्यही पोखरीको
उदासी पिउने गर्छु ।
मर्नु र बाँच्नुमा
अब केही फरक रहेन,
यही सोच्दै
म जिउने गर्छु ।
साभार : मेघा(कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)