• २०८१ बैशाख ७ शुक्रबार

योगमाया सम्मानहरुको घोषणा २०७९

नेपाल स्रष्टा समाजले महामना नारी योगमायाका नाममा प्रत्येक वर्ष सृजना तथा नारी जागरणका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई अर्पण गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान बाट विसं २०७८ का लागि साहित्यकार श्री हिरण्यकुमारी पाठक र २०७९ का लागि श्री रुकू कार्कीलाई सम्मानित गर्ने निर्णय गरेको कुरा प्रकाशमा आएको छ ।

समाजका अध्यक्ष विधान आचार्य अनुसार उहाँकै नाममा स्थापित तथा योगमायाका आदर्शलाई विभिन्न कार्य, अभियान तथा खोज आदिबाट व्यवहारमा उतार्ने व्यक्तित्वलाई अर्पण गरिने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट वि.सं. २०७९ का लागि भोजपुरमै रही योगमाया सम्बन्धी विभिन्न कार्यमा सक्रिय रहनु भएका श्री मोहनकुमार बस्नेतलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।

सम्मानपत्र तथा नगद राशि सहितका यी दुवै सम्मान, उहाँहरू तीन जना व्यक्तित्वलाई महामना नारी योगमाया लगायत उहाँका अनुयायी (६८ जना) ले स्वातन्त्र्य चेतना, आध्यात्मिक जागरण तथा तत्कालीन राणा शासनका विरुद्ध वि. सं. १९९८ असारमा जीवन उत्सर्ग गर्नुभएको दिन पारेर आगामी असार २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा दिनको ३ बजे एक समारोहमा सादर अर्पण गरिने छ ।

नेपालको स्वातन्त्र्य चेतना, धार्मिक रूढिवादितामा परिमार्जन तथा सांस्कृतिक पुनर्जागरणका निमित्त महामना नारी योगमायाको योगदानको कदर गर्दै नेपाल सरकारले उहाँका नाममा यस अघि एक हुलाक टिकट प्रकाशन तथा योगमाया आयुर्वेद विश्वविद्यालयसमेत स्थापना गर्ने निर्णय गरिसकेको छ । यस्ता मनीषी व्यक्तित्व योगमायाका सम्मानमा प्रत्येक वर्ष असर २२ गतेलाई योगमाया दिवसका रूपमा मनाउने निर्णय गर्न नेपाल सरकार समक्ष नेपाल स्रष्टा समाजले विगतदेखि नै बारम्बार अनुरोध समेत गर्दै आएको छ ।