साहित्यकार राजन सिलवालको लघुकथा कृति ‘बा को कोट’को आज राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई प्रमुख अतिथि, वरिष्ठ साहित्यकार महेश प्रसाईं, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा.भरतकुमार भट्टराई, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक श्री नेबिनलाल श्रेष्ठ, कवि देवु लुइँटेल, कृतिकार राजन सिलवाल र लघुकथा भित्रका पात्रहरूको प्रतिनिधिपात्र देवेन्द्रलाल कारञ्जितले संयुक्त रूपमा ‘बाको कोट’को लोकार्पण गरे ।
कार्यक्रममा प्राध्यापक भरतकुमार भट्टराईले राजन सिलवालको लघुकथाकारिता माथि टिप्पणी गर्दै सिलवालका लघुकथाहरू उनका मुक्तकहरू जत्तिकै सशक्त र विविध विषयलाई तीक्ष्णता पूर्वक अभिव्यक्तगर्दै पाठकहरूको मन मस्तिष्कमा छाप छोड्न सफल रहेको बताए ।
अतिथि महेश प्रसाईंले सिलवालका लघुकथाहरू पछिल्लो समयमा समकालीन लघुकथाको एउटा धार र प्रवाहका रूपमा अगाडि आएको र तीभाव, शैली, विचार, भाषा आदिको दृष्टिले अत्यन्त शक्तिशाली रहेको विचार राखे । अर्का अतिथि वक्ता केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लेखकसँगको २५ वर्ष लामो संगत र सहकार्यको स्मरण गर्दै विभागको हलमा यसप्रकारको कार्यक्रम प्रथम पटक गर्न पाएकोमा खुसी व्यक्त गरे र लेखकको काम, क्षमता र लेखनीबाट आफू मुग्ध रहेको बताए ।
कथासङ्ग्रह भित्रका पात्रहरू मध्येबाट मञ्चमा उभ्याइएका पात्र देवेन्द्रलाल कारञ्जितले आफू लिखित एउटा लघुकथा वाचन गरेका थिए । करिब ९० जनाको शान्त र सभ्य उपस्थिति रहेको सो कार्यक्रममा सभाध्यक्ष कवि देवु लुईँटेलले राजन सिलवालको व्यक्तित्व, कलम एवम् शब्दको सामथ्र्यबाट आफू प्रभावित रहेको र सङ्ग्रहका कथाहरू हरेक दृष्टिबाट पठनीय रहेको बताइन् । कृतिको मूल्य रु ३८० रहेको छ ।