समाचार

काठमाडौँ- नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र विभागले दर्शनशास्त्रका ६ कृति सार्वजनिक गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक गोष्ठीमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेती र वीरेन्द्रप्रसाद मिश्रले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएका कृतिहरूमा ‘कर्णाली प्रदेशमा प्रचलित दर्शन परम्परा, ‘रामानुजाचार्यको विशिष्टा द्वैत दर्शन’,‘प्रशस्त पादभाष्य’,‘वैशेषिक सूत्रको विवेचनात्मक व्याख्या’, ‘सर्वार्थ योगवाणी’ र ‘तन्त्र सर्वस्व’ छन् । फरक फरक अध्यता तथा दर्शन शास्त्रीययी पुस्तक लेखेका हुन् । विष्णुप्रसाद शर्माले ‘कर्णाली प्रदेशमा प्रचलित दर्शन परम्परा’ अनुसन्धान गरेका हुन् । यसैगरी नर्वेजियन युनिभर्सिटी अफलाइफ साइन्सेसका प्राध्यापक विशाल सिटौलाको ‘संसार एक पाठशाला’ कृतिसमेत सार्वजनिक गरिएको थियो ।
प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले अहिलेसम्म डेढ दर्जन दर्शनशास्त्रका कृति प्रकाशित रहेको बताए । ‘प्रतिष्ठानको ६५औं वार्षिकोत्सव मनाउने तयारीमा छौं’ दर्शनशास्त्र विभाग प्रमुख समेत रहेका उपाध्यायले भने, ‘पहिला भारत वर्षीय भनिन्थ्यो । अहिले भारतवर्ष विभिन्न देशमा खण्डित छ । तसर्थ हाम्रा ऋषि महर्षिहरुले प्रतिपादन गरेका जीवनदर्शन प्रकाशन गर्ने तयारीमा छौं ।’ पूर्र्वीय दर्शनलाई अनुसन्धान, प्रकाशनलाई प्राथमिकता दिएको उनले जनाए ।
प्राध्यापक विशाल सिटौला प्रमुख प्रवचक रहेको समारोहमा जीवन दर्शनबारे प्राध्यापक वीरेन्द्रप्रसाद मिश्र, प्राध्यापक विद्यानाथ उपाध्याय, चिन्तामणि योगी, स्वामीआनन्द अर्हत, कुलपति उप्रेती, उपकुलपति जगमान गुरुङलगायतले चर्चा गरेका थिए ।