समाजको साँघुरो घेरा चिर्दै
परिवर्तनको नयाँमोडमा
उभिन्छन रत्नाहरू
संगैका धनुके, आमगौडा तिर घाँस काट्दै छन्
संगैका हट्वानी, त्रिसुले तिर दाउरा काट्दै छन्
तर रत्नाहरू नेतृत्व तहमा छन्
अधिकारको लडाइँ लडदै छन् ।
विपन्न दलित महिला
राजनीतिक क्षितिजको पिलपिले तारा
जहाँ हात तान्ने कोहि हुदैनन्
जहाँ तीव्र गलाकाट प्रतिस्पर्धा छ
निख्खर खारिएर समाजको नेतृत्वलिन
त्यति सरल छैन,सहजपनि छैन
समाज हेयले हेर्दछ
भाँडो थापेर पानीमाग्नु पर्ने
पिएर भाँडो घोप्ट्याउनु पर्ने
विद्यमान छ, समाजमा छुवाछूत
गडेर बसेको छ विभेदको घाउ
कसैले बदलिँदो भने पनि
रूपान्तरित भने पनि
विभेद विभेदै छ ।
डर छ, कुण्ठा छ, पीडा पनि छ
गडेर रहेको उचनिचको भावना
नरभान कामीले संविधानमा लेख्दैमा
चक्रप्रसाद स्नेहीले राष्ट्रियसभा बोल्दैमा
निरा जैरूले सार्वजनिक महत्वको
प्रस्ताव लैजाँदैमा
ज्ञानु गैरीले सदनमा बोल्दैमा
दुईचार जना आरक्षणमा अटाउँदैमा
विभेदको अन्त हुदैन ।
रत्नाले भोगेको विभेद मीन बिश्वकर्माले बुझ्दैनन
रत्नादेवीले देखेको छुवाछूत
जीवन परियारले देखेका, भोगेका छैनन
आरजु देउवाले सायदै सुनेको होला
वहाँले उठाउने अधिकारमा
कत्तिको समेटिएको हुन्छ विभेदको मुद्दा
मान्छे मान्छेका बीच बनाईएको पर्खाल
सितिमिति त भत्कँदैन
विभेद छ, छोइछिटो गरिन्छ
अपमान छ घृणा गरिन्छ
तैपनि समाज हो मिलेर बस्नु पर्ने हुन्छ ।
दलित बस्ती, तल्लो जातीको घर
त्यही बीचमा परिवर्तनका लागि
जन्मिन्छन रत्नाहरू
नारकीय जीवन जिउँने त धेरै छन्
उपत्यकाका पोडे हुन वा तराईका डोम
परिवेश फरक भएपनि परिस्थिति उही हो
विभेद त धेरै तोडनु छ
अझै छाउघर भत्काउनु छ
छुवाछूत रोक्नु छ
सामाजिक सद्भाव कायम पनि राख्नु छ
परिवर्तनको कुशलपात्र हुन ।
रत्नादेवीहरू
नारी पात्र जसले हरेक पक्ष बदल्न सक्छे
जसले असमानतामा समानता खोज्छे
विभेद चिर्दै सद्भाव निर्माण गर्छे
उमादेवीबादीहरू निरन्तर निरन्तर छन्
द्वारिकादेवी ठकुरानीले पनि
एउटा पर्दा चिरेकै हुन
सहास,आँट चाहिन्छ रूपान्तरणका लागि
त्याग जरूरी हुन्छ
ठूलो उत्साहका साथ उठेका छन्
रत्नादेवीहरू
साथ, समर्थन, सहयोग पनि छ
हरिना, दिपा, सीता, मायाहरू
लागि परेकै छन्
हिजो जुन परिवेश थियो
आज फेरिएको छ
यथास्थितिले पुग्दैन
लाग्नु पर्छ, खटनु पर्छ, उठनु पर्छ
रत्नादेवीहरू ।।
कैलासकुमार पाण्डेय, डडेल्धुरा
[email protected]