हिन्दी कविता

भ्रमहरूको खेती
फस्टाएको छ जताततै
दिन दुना रात चौगुना गरी
बेईमानीहरूको जमात
मोटाएको छ जताततै
अन्याय र अत्याचार
दुबो झैँ मौलाएको छ
र त मानवताको सबै
खेत बारी र कान्लाहरू
सुक्खा परेको छ,
खडेरीले चर चर चिरा
परेको छ जताततै ।
देखिंदैन आज भोलि
ईमान र जमान यहाँ कतै
किनबेच गर्न सक्नेहरूले
क्रय–विक्रय गर्न थाले,
बिक्न थालेछन् यहाँ
आत्माहरू जताततै
मिठा बचन र बोली
ज्वाला जस्तै दनदनी बलेर
मन खलबली जताततै ।
नापिन थालेछन् यहाँ
आफ्नै फाईदा र घाटा
हिसाब जोड घटाउको
छैन किंचित संवेदना कतै
पराईको गहिरो चोट
र छिया छिया घाउको
सजिलै विभेद गरिदिन्छन्
हिंजो तिमी थियौ भने
आज अरुको भईदिन्छन्
भ्रमहरूले धेरै बच्चा कोरलेछन्
सत्य र ईमान–जमानको
असत्तो पारेका छन्
सिधा साधाको ह्याउ
सक्दो तल ओरालेका छन् ।
त्यसैलै उठ्नु पर्छ अब
आवश्यक परेकालाई
उठाउनु पर्छ अब
किनकि यहाँ
भ्रमहरूको खेती
फस्टाएको छ जताततै ।
माया गुरुङ, बेलायत
[email protected]