अशेष मल्ल - Aksharang
  • २०७८ जेठ ४ मङ्गलबार

अशेष मल्ल

खै कहाँबाट सुरु गर्ने,
नाट्यकर्म त मैले
विरासतमै पाएको हुँ
बाउ–बाजेले गर्दा नै
आठ वर्षको उमेरमा
मादल बजाउँदै स्टेजमा ओर्लेको
सम्झनाले अझै पुलकित बनाउँछ ।

०००
अभावले लेख्न लगायो
नाटककार बनायो
र त्यही नाटक ‘तुँवालोले ढाकेको बस्ती’ ले
मलाई काठमाडौँ ल्यायो ।
धनकुटाबाट विराटनगर
पढ्न झरेको थिएँ
विराटनगरबाट धनकुटा
उक्लिन्थेँ नाटक गर्नकै लागि
म नाटक बाहेक अरू केही
सोच्नै सक्दिनँ
अशेषलाई अशेष मल्ल
यही नाटकले नै बनाएको हो ।

०००
विजय मल्लले दिएको इखले
हो वा, समजीको स्याबासीले
आज नेपालमा पहिलो
र एक मात्र निजी नाट्यशाला
निर्माण गर्न सकिएको छ
यो निर्माण पनि अभावकै
पीडाको परिणाम हो
र, त्यही अभावले
त्यत्ति बेला ‘सडकनाटक’ जन्मायो
आर्थिक अभाव
र सेन्सरको पीडाले नै
वैकल्पिक रङ्गमञचका रूपमा
सडकनाटक जन्मियो
अब हामीलाई मनका कुरा भन्न
केहीले नरोक्ने भयो
पीपलजस्तै हो सिर्जना
केही गरे पनि रोकिन्न ।

०००
कुनै असन्तुष्टि छैन अहिले
कुनै पश्चात्ताप पनि छैन
जे मनले भन्यो– त्यही गरेंँ
अनवरत गरि नै रहेँ
छोरी पनि सिर्जना–यात्रामा
चलचित्र कर्ममा खुसी छिन्
छोरो होटल व्यवसायमा तल्लीन छ
श्रीमती प्राध्यापन, घर अनि
सर्वनाम र मेरो व्यवस्थापन
गरि नै रहेकी छिन्

०००
सर्वनाममा हरेक दिन
केही न केही भइरहन्छ
आफैँले वा अरूले
कार्यक्रम गरि नै रहन्छन्
त्यो हुनुले म सन्तुष्ट हुन्छु
मलाई जड्ताले पिरोल्छ
गतिशीलता चाहिन्छ
हामीले गरिरहनुपर्छ
र निष्पाप गरिएका हरेक कर्मको
फल सधैँ मीठो हुन्छ ।

०००
कहिलेकाहीँ सोच्छु
यो नाट्य लेखन र निर्देशनमा
म भित्रको कलाकार कहाँ हरायो ?
म भित्रको कवि किन निदायो ?
यिनै प्रश्नको जवाफमा
अभिनय पनि गर्छु
कविता पनि लेख्छु
सबैभन्दा ठूलो कुरा त
नेपाली नाटकलाई

विश्वरङ्गमञच पु-याएको छु
र कुनै पनि अर्थमा कमजोर छैन
नेपाली नाटक !

०००
यही बोध नै– मेरो सन्तुष्टि हो
हतार छैन– तर चुप बस्न   पनि सक्तिनँ
कुनै मोह छैन– भित्रबाट पूर्ण छु
बस् एउटै चाहना छ–
अन्तिम दिनसम्म रङ्गकर्म गरिरहन पाऊँ !