काठमाडौँ
बलिउड स्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा १७ जना नेपाली कलाकार तथा सांगीतिक समूह सहभागी हुने भएका छन् । ‘दवंग टुर नेपाल–रिलोडेड’ नामको सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिव परियार, त्रिशाला गुरुङ, स्वप्न सुमन, सुनिता दुलाल, सुवानी मोक्तान, सुशान्त केसी, सन्जु मोक्तान, समिर श्रेष्ठ, प्रवेशकुमार श्रेष्ठ, तुनाबेल थापा सहभागी हुने आयोजक ओडीसी इन्टरटेनमेन्ट प्रा लि का प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए । उनका अनुसार, कार्यक्रममा नृत्यतर्फ माला लिम्बु, मुना गौचनको प्रस्तुति रहने छ ।
दिउँसो १२ बजेदेखि खुलाहुने रंगशालामा डिजेबाट सांगीतिक कार्यक्रमको सुरु हुनेछ । आयोजकले डिजेहरुमा रोहित शाक्य, प्रेम र रेडमससँग सम्झौता गरेको जनाएको छ । त्यसैगरी उक्त कार्यक्रममा अर्केस्ट्रा तर्फ कलंकीमा रहेको एलआरई स्कुलको प्रस्तुति राखिएको छ । उक्त विद्यालयका कलाकारले राष्ट्रियगान लगायतका प्रस्तुति दिनेछन् ।
आयोजक मध्येका राजीव श्रेष्ठका अनुसार, १२ बजेदेखि खुलाहुने रंगशालामा पहिले नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । जब साँझपर्ने छ, सलमानखान सहित बलिउड कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि सलमान तीनदिन अघि काठमाडौं आइपुग्ने छन् । पहिलो दिन साँझमात्रै काठमाडौं ओर्लिने सलमान दोस्रो दिन बिहान बलिउड कलाकार तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेका साथ हेलिकप्टरमा सगरमाथा अवलोकन गर्नेछन् । पर्वतीय उडानमा सलमान खान सगरमाथा क्षेत्रमा ब्रेकफास्ट गर्नेछन् । यो कार्यक्रमले भारतीय पर्यटक नेपालमा आकर्षित हुने आयोजकको अपेक्षा छ । ‘५ वटा हेलिकोप्टरसँग सम्झौता भइसकेको छ,’ प्रबन्ध निर्देशक गुरुङले भने, ‘नेपालमा पछिल्ला वर्ष नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सिचिन फिङ आए र सलमान खान त्यसपछिका भीभीआईपी अतिथि कलाकार हुन उनले नेपाल घुमेकोखबरले हाम्रो कोरोनाले सुस्ताएको पर्यटन बजारलाई माथि उठाउन मद्दत पुग्नेछ ।’